fbpx
Nepal Mediciti

गृहपृष्ठ चितवनमा भ्रमण वर्ष २०२० को तयारी तीव्र

चितवनमा भ्रमण वर्ष २०२० को तयारी तीव्र

तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी सुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ । यसैगरी जिल्लाका सातवटै पालिकामा प्रमुखको संयोजकत्वमा आयोजक समिति गठन गर्न आग्रह गरिएको जानकारी उनले दिए ।

ती समितिहरूमा सरोकारवाला सबै पर्नेछन् । समितिका सदस्यबाट विभिन्न उपसमिति निर्माण गरी भ्रमण वर्ष सन् २०२० लाई प्रभावकारी बनाउने काम गरिने डल्लाकोटीले जानकारी दिए । उनले भने, ‘चितवनका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउने गरी हामी काम गर्दै छौँ ।’

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरस्तरीय सहजीकरण तथा आयोजक समिति गठन गरी भ्रमण वर्षलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरू अघि बढाउन लागिएको बताइन् । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । महानगरको अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । प्रमुख दाहालले भनिन्, ‘भ्रमण वर्षको प्रचारप्रसारमा कुनै कमी हुन दिनेछैनौँ ।’

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जनवरी १ तारिखमा स्मारकसहित भ्रमण वर्षका कार्यक्रम सुरु गरिने बताए । निजी र सरकारी क्षेत्रको समन्वयमा कार्यक्रमहरू हुने उनले जानकारी दिए । नयाँ गन्तव्यहरूको समेत पहिचान गरी प्रचारप्रसार गरिनेछ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले नियमित कार्यक्रमका अतिरिक्त अन्तर्राष्ट्रिय हात्तीपोलो, दसैं महोत्सव, नेपाली नयाँ वर्ष विशेष कार्यक्रमजस्ता पर्यटक प्रवर्द्धन गर्ने गतिविधि गर्ने तयारी गरिएको बताए । हाल जिल्लामा दुई लाख हाराहारी पर्यटक आउने गरेकामा यो संख्यालाई दोब्बर बनाउने गरी प्रचारप्रसारमा जुट्ने घिमिरेको भनाइ छ ।

के–कस्ता कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने विषयमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनसहितको विज्ञ समूहहरूसँग छलफलसमेत भइरहेको उनले जानकारी दिए । भ्रमण वर्षमा चितवनमा के भयो भन्ने प्रश्नको जवाफ दिन सक्ने गरी कार्यक्रम गरिने घिमिरेको भनाइ छ ।

सौराहाका होटलहरूले स्तरोन्नतिका लागि कामसमेत गरिरहेका छन् । होटलमा रङरोगन गर्ने, क्षमता विस्तार गर्ने, पौडीपोखरी निर्माण गर्नेजस्ता काम भइरहेका छन् । चितवनमा मुख्य रूपमा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, एकसिंगे गैँडा हेर्न धेरै पर्यटक आउने गर्छन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाटधाम, माडीको गोद्धक, सोमेश्वरगढी, पाँचपाण्डव, वाल्मीकि आश्रम, जिरौनाको धर्मधामलगायतका स्थलमा पर्यटक आउने गर्दछन् । चितवन उच्च पहाडी क्षेत्रदेखि समथर मैदानसम्म रहेकाले सिराइचुली, उपारदाङगढीलगायतका पहाडी क्षेत्रमा पनि पर्यटक पुग्ने गर्छन् । यसै जिल्लाबाट केबलकार चढेर मनकामना जानेहरूको संख्या पनि ठूलै हुने गर्छ । (रासस)

प्रकाशित समय ११:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु