fbpx
Nepal Mediciti

गृहपृष्ठ आलु जोगाउन दुदिलाभाटीमा भण्डारण गृह निर्माण

आलु जोगाउन दुदिलाभाटीमा भण्डारण गृह निर्माण

गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी, भण्डारवनमा आलु भण्डारण गृह निर्माण गरिएको छ । बीउ जोगाउन र उपभोग्य आलु सुरक्षित राख्न उक्त गृह बनाइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको आर्थिक सहयोगमा भण्डारण गृह निर्माण भएको हो । नगरपालिकाको दुई लाख, केन्द्रको पाँच लाख र एक लाख १४ हजार रूपैयाँ बराबरको जनश्रमदानमा भण्डारण गृह बनेको निर्माण समितिका अध्यक्ष राजेन्द्र कुँवरले बताए ।

भण्डारण गृह निर्माणले आलुखेतीको प्रवर्द्धनसँगै बजारीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । एकतले गृहमा १० टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बनेपछि आलु किसान खुसी छन् । घरमा राख्दा कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।

खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । संरचना बनाउँदा आलुका लागि तापक्रम अनुकूल हुने गरी निर्माण गरिन्छ । दुदिलाभाटीको भण्डारवन, ज्यामिरे, टोड्केलगायतका ठाउँमा बढी आलुखेती हुन्छ । ‘आलु खनेपछि लामो समयसम्म जोगाउनै गाह्रो थियो,’ स्थानीय किसान हिराबहादुर किसानले भने, ‘अब किसानलाई सहज हुने भयो ।’

दुदिलाभाटीलाई आलुको ‘पकेट’ क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । अहिले ५ सय रोपनीभन्दा बढी क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । ‘आलुको व्यवसायीकरणमा पनि भण्डारण गृहले सघाउँछ, यसबाट किसानले फाइदा लिन सक्नुपर्छ,’ समितिका अध्यक्ष कुँवरले भने । जिल्लाको ताराखोला, ढोरपाटन, दमेक, धम्जालगायतका क्षेत्र आलुका लागि ‘पकेट’ मानिन्छन् । (रासस)

प्रकाशित समय १५:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु