fbpx
Rashifal Ad

गृहपृष्ठ पर्यटन प्रवर्द्धन गर्न नाट्टाको टोली हैदरावाद र बैंलोरतिर

पर्यटन प्रवर्द्धन गर्न नाट्टाको टोली हैदरावाद र बैंलोरतिर

‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैंलोर प्रस्थान गरेका छन् । पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को टोली ‘प्रमोसनल टुर तथा सेल्स मिसन २०१९’ का लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो ।

नाट्टाको टोलीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिदाइ गरे । गण्डकी प्रदेशको आर्थिक विकासको आधारस्तम्भ नै पर्यटन भएकाले यसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको गुरुङको भनाइ थियो । उनले पर्यटन विकास र प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पर्यटनलाई प्राथमिकता दिएको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले भारतको बैंलोर र हैदरावाद नेपाली पर्यटन बजारका लागि उपयुक्त गन्तव्य रहेको बताए । ४२ करोड जनसंख्या रहेको उक्त स्थानमा गर्मी छल्न पोखरा जाऊँ भन्ने सन्देश पु-याउन सके पोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे ।

बिदाइ कार्यक्रममा नाट्टाका पूर्वअध्यक्ष केशवराज आचार्य र पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष केदार शर्मालगायतले पर्यटन विकासमा नाट्टाको भूमिका महत्वपूर्ण रहेको भन्दै यस भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने विश्वास व्यक्त गरे ।

नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले प्रवर्द्धनात्मक भ्रमणमा ‘बि टु बी’ कार्यक्रममार्फत पोखरा र आसपासको पर्यटन प्रवर्द्धन गरिने बताए । भारतको विभिन्न शहरमा नेपाल र पोखरा प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको उत्कृष्ट गन्तव्य रहेको सन्देश दिइने उनको भनाइ छ ।

सन् १९६६ मा पर्यटन प्रवर्द्धनात्मकको परिकल्पनाको साथ स्थापित नाट्टाले पर्यटन प्रवर्द्धनका साथ देश–विदेशमा सन् २००८ देखि औपचारिक रुपमा प्रवर्द्धनात्मक भ्रमण गर्दै आएको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए । (रासस)

 

प्रकाशित समय १२:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु