fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ कतारमा सयौं नेपाली अलपत्र, उद्धार सुस्त

कतारमा सयौं नेपाली अलपत्र, उद्धार सुस्त

doha-qatar-newskarobar

वैदेशिक रोजगारीका लागि कतार पुगेका सयौं नेपाली कामविहीन भएर अलपत्र परिरहँदा उद्धारका लागि सरकारी पहल भने सुस्त देखिएको छ । नाकाबन्दीका कारण कतारका उद्योग बन्द हुँदा कामविहीन भएर अलपत्र परेको महिनौं बितिसक्दा पनि उनीहरुको उद्धार हुन सकेको छैन ।

कतारमा कम्पनी बन्द हुँदा नेपाललगायत श्रीलंका र बंगलादेशबाट गएका सयौं कामदार अलपत्र परेको एम्नेस्टी इन्टरनेसनलको अनुसन्धानले देखाएको छ । बन्द भएका कम्पनीबाट पारिश्रमिक पाउने आशामा नेपाली कामदार कहिले यता त कहिले उता धाउन बाध्य छन् । तर, कतारस्थित नेपाली दूतावासबाट पनि उनीहरुलाई यथेष्ठ सहयोग भएको छैन ।

करिब १७ सय कामदार कार्यरत हमिद विन खालेद विन हमद कम्पनी २०१८ मार्चमै बन्दै भएको हो । त्यहाँ कार्यरत सयौं नेपाली कामदारले २०१७ डिसेम्बरदेखिको तलब पाएका छैनन् । उनीहरु अहिले पनि तलबका लागि संघर्षरत छन् । कतिपय रित्तो हात फर्किसकेका छन् भने कतिपय कानुनी लडाइँ लडिरहेका छन् । तर, उनीहरु न्याय पाउने सम्भावना क्षीण रहेको एम्नेस्टीले जनाएको छ ।

हमटन इन्टरनेसनल, युनाइटेड क्लिनिङलगायतका कम्पनी बन्द भएपछि त्यहाँ कार्यरत सयौं नेपाली पनि तलबका लागि महिनौंदेखि भौंतारिरहेका छन् । तर, कम्पनीका मालिकहरू नै छलफलमा नआउने गरेकाले उनीहरुले न्याय पाउने सम्भावना देखिएको छैन । अहिले नेपाली कामदार अरुले सहयोग गरेका खानेकुराका भरमा बाँचिरहेको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ । आप्रवासी कामदारलाई बन्द भएका कम्पनीबाट तलब सुविधा उपलब्ध गराउने कतारी श्रम विभागको प्रयास पनि असफल देखिएको छ ।

उद्धारको प्रक्रियामा छौं : विभाग
श्रम तथा रोजगार विभागले भने कतारमा पारिश्रमिक नपाएर अलपत्र बनेका नेपालीको उद्धारका लागि पहल भइसकेको जनाएको छ । विभागका निर्देशक भोला गुरागाईंले अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न कतारस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको बताए ।

कतारमा कम्पनी बन्द भएर कति नेपाली अलपत्र परेका छन् भने यकिन जानकारी भने विभागसँग छैन । विभागले उजुरीका आधारमा उद्धार प्रक्रिया अघि बढाउने भएकाले अलपत्र भएका सबै नेपालीको अवस्थाबारे जानकारी हुन नसकेको हो ।

कामदारको उजुरीका आधारमा विभागले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीलाई सम्पर्क गरेर तलब पाएको नपाएको बारेमा बुझ्ने गरेको निर्देशक गुरागाईंले जानकारी दिए । ‘त्यसपछि कतारस्थित नेपाली दूतावासलाई कम्पनीका मालिकसँग सम्पर्क गरेर कतारी श्रम ऐनअनुसार क्षतिपूर्ति भरण गराउँछौं,’ उनले भने, ‘कम्पनी भागेको खण्डमा भने कतार सरकारसँग सम्पर्क गरेर क्षतिपूर्ति भरण गराएरमात्रै नेपाल फर्काउने काम हुन्छ ।’

कतारमा रोजगारीमा गएका कामदारले पारिश्रमिक नपाएको उजुरीका आधारमा कम्पनीले दुई वर्षभित्र पारिश्रमिक दिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार दूतावासले क्षतिपूर्ति भरणका लागि कदम चाल्ने विभागले जनाएको छ ।

निरन्तर उद्धार गरिरहेका छौं : बोर्ड
वैदेशिक रोजगार बोर्डले भने कतारमा अलपत्र कामदारको उद्धार भइरहेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले कामदारको परिवार या कतारको नियोगको जानकारीको आधारमा अलपत्र कामदारको तत्कालै उद्धार गर्ने गरिएको बताए । ‘श्रम अदालतमा मुद्दा लड्न चाहनेको हकमा तत्काल केही गर्न सकिन्न,’ उनले भने, ‘तर आउन चाहनेलाई तत्कालै टिकट पठाउने गरेका छौं ।’ कतारलगायतका कुनै पनि मुलुकमा अलपत्र परेको जानकारी पाउनासाथ बोर्डले एक्सन लिइहाल्ने उनको भनाइ छ ।

बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न देशमा अलपत्र परेका ७८ कामदारका उद्धार गरेको छ । तीमध्ये ७३ पुरूष र ५ महिला छन् ।

कतारबाट रित्तो हात फर्किंदैछन् नेपाली कामदार

प्रकाशित समय १४:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु