गृहपृष्ठ चिडियाखानामा लकडाउनको असर : अब दुई महिनामात्रै पुग्छ आहारा
चिडियाखानामा लकडाउनको असर : अब दुई महिनामात्रै पुग्छ आहारा
विगत ६ महिनादेखि एक जना पनि आगन्तुक नआए पनि सञ्चित बचतबाटै जीवजन्तुहरूलाई आहारा जुटाउँदै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको सदर चिडियाखानालाई अब भने संकट पर्न थालेको छ । जीवजन्तुलाई खुवाउने आहारा र त्यसका लागि सञ्चित रकम पनि सकिन थालेपछि चिडियाखाना संकटमा पर्न लागेको हो ।
‘हाम्रो पुरानै सञ्चित गरेको आहाराबाट नै अहिलेसम्म चलेको छ । अबको दुई महिनासम्म पनि चलाउन सकिन्छ भन्नेमा छ । दुई महिनापछिको आहाराको लागि सरकारलाई पत्राचार गरिसकेका छौं,’ चिडियाखानाका प्रवक्ता चिरञ्जीवीप्रकाश पोखरेलले भने ।
उनका अनुसार वार्षिक रूपमा २ करोड रूपैयाँ जीवजन्तुको आहारामै खर्च हुने गरेकोमा हालसम्म सञ्चित आयबाटै जीवजन्तुको आहारा जुटेको हो । ‘विगतमा करिब तीन वर्षको अवधिमा करिब ४० करोड रुपैयाँ राजस्व जम्मा गरिन्थ्यो र त्यसैले सम्पूर्ण खर्चको व्यवस्थापन गरिन्थ्यो,’ पोखरेलले भने, ‘यो वर्षमा त जनावर पाल्न पनि अबको दुई महिनालाई पुग्ने जति मात्र छ । त्यसपछि सरकारले व्यवस्थापन गरेन भने निकै संकट हुने देखिएको छ ।’
चिडियाखानामा राखिएका जीवजन्तुहरू भने अहिले निकै स्वस्थ्य र तन्दुरुस्त देखिन थालेका छन् । हजारौं पर्यटक भ्रमणमा आउँदा मानिससँगै डराएकाझैं देखिने जनावरहरु अहिले भने शान्त वातावरणमा रमाइरहेका छन् । ती जीवजन्तुहरूले आहारा खुवाउने मालिकबाहेक कसैलाई देख्नु परेको छैन ।
कोरोना महामारीले भने चिडियाखानाका जीवजन्तुहरू आफूलाई सुरक्षित भएको महसुस गरेजस्तै देखिन्छन् । अन्य बेलामा भ्रमणमा आउने पर्यटकले जिस्क्याइरहेका बेलामा डराइरहने जनावरहरू अहिले भने शान्त देखिएको चिडियाखानाका कर्मचारीहरू बताउँछन् ।
विश्वभर कोरोना महामारी फैलिएको बेलामा नेपालमा पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि नै सरकारले लकडाउन लगाएको थियो । त्यो बेलादेखि नै ठप्प भएको बजारमा दैनिक ज्यालादारी गर्ने मानिसलाई पनि पेट पाल्न निकै समस्या भयो । अहिले पनि अवस्था उस्तै छ । बस्ती नजिकै भएका जनावरहरूलाई त झन् समस्या नहुने कुरै भएन । केही अभियन्ताहरूले त जंगली बाँदरहरूलाई पनि खानेकुरा खुवाइरहेका छन् ।
यो महामारीमा पनि जावलाखेलको चिडियाखानामा रहेका जीवजन्तुलाई सहजै पाल्न र व्यवस्थापन गर्न सकेको त्यहाँको व्यवस्थापनले अब भने सहयोगका लागि सरकार गुहारेको हो ।
सदर चिडियाखानाको आयस्रोत
वार्षिक रुपमा करिब १० करोड रूपैयाँ राजस्व संकलन गर्दै आएको चिडियाखाना यो पटक भने ७ महिनादेखि बन्द हुँदा आयस्रोत ठप्प बनेको छ । चिडियाखानाको आयस्रोत भनेकै भ्रमण गर्नेहरुकै टिकट शुल्क हो । स्वदेशी तथा विदेशीहरु पर्यटकले भ्रमण गरेको टिकटको रकम जम्मा गरेर नै चिडियाखानाका जनावर तथा कर्मचारीहरू पालिन्छ । कोरोनाको कहरपछि चैतदेखि एक जना पर्यटक पनि आएका छैनन् । पुरानो सञ्चित गरेको रकमबाट नै अहिलेसम्म व्यवस्थापन गरेको प्रवक्ता पोखरेलले बताए ।
चिडियाखाना भ्रमणको प्रवेशमा नेपाली नागरिक, सार्क मुलुकका नागरिक र विदेशी नागरिकलाई फरक-फरक शुल्कमा प्रवेश गराइन्छ । नेपाली नागरिक वयस्कलाई प्रतिव्यक्ति टिकट १५० रुपैयाँ, विद्यार्थीलाई ९०, बालबालिका (४–१२ उमेरका) लाई ५०, जेष्ठ नागरिक (६५ वर्ष माथिको) लाई ९० रुपैयाँ टिकट निर्धारण गरिएको छ । त्यस्तै सार्क मुलुकका नागरिक (वयस्क) लाई २५० र बालबालिकालाई १२५ रुपैयाँ तोकिएको छ । विदेशी नागरिक (वयस्क) लाई ७५० र बालबालिकालाई ३७५ रुपैयाँ निर्धारण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
कति प्रजातिका कति जीवजन्तुहरू छन् ?
अहिले सदर चिडियाखानामा ११० प्रजातिका जनावर तथा चरा-चुरङ्गी गरी एक हजारभन्दा बढी जीवजन्तुछन्, तीमध्ये सबैभन्दा बढी चराका प्रजाति छन् । चिडियाखानामा ५३ प्रजातिका ७१३ वटाचराहरु छन् । नेपालमा पाउने अधिकांश र केही विदेशमा पाइने चराहरू चिडियाखानामा राखिएका छन् ।
चिडियाखानामा वन्यजन्तुहरू राख्नका लागि पनि सरकारको अनुमति चाहिन्छ । ‘जनावर तथा चराचुरुङ्गीहरूको फेरबदल तथा थपघट गर्नुपरेमा मन्त्रिपरिषदकै निर्णय चाहिन्छ,’ सदर चिडियाखानाका प्रवक्ता पोखरेलले भने, ‘चिडियाखानामा कुनै जनावरहरू थपघट गर्नुपरेमा, प्रवेश शुल्क घटबढ गर्नु परेमा, खोरहरू नयाँ बनाउन वा सार्नुपरेमा तुरुन्तै मन्त्रीको निर्णय गराउनुपर्छ । माथिको निर्णय अनुरुप मात्र हामी काम गर्छौं ।’
जुद्धशमशेर जबराको पालादेखि सुरु भएको चिडियाखाना २०१९ सालपछि मात्र नेपाल सरकारले आफ्नो संरक्षण दिएको हो । चिडियाखानामा कहिलेकाँही जीवजन्तुहरु आवश्यकताभन्दा बढी भएमा राष्ट्रिय निकुञ्जलगायतका संरक्षित जंगलहरूमा सार्ने गरिएको प्रवक्ता पोखरेलले बताए ।
आहारामा बढी ध्यान दिने हुँदा जंगलमा भन्दा चिडियाखानामा जनावरहरूको आयु लामो हुने गरेको उनी बताउँछन् । ‘जंगलमा भन्दा फरक तरिकाले जीवजन्तुको खानाको व्यवस्था गरिन्छ, खानामा एकदमै ध्यान दिएर स्वच्छ सफा खानेकुरा दिने गरेका कारण जंगलमा बाँच्ने आयु भन्दा पनि ५-७ वर्ष बढी बाँच्ने गरेका छन्,’ उनले भने ।
‘केही लोपोन्मुख जातका वन्यजन्तुहरु त जति प्रयास गर्दा पनि बचाउनै सकिन्न । सालक, लाटोकोसेरोलाई धेरै प्रयास गर्दा पनि चिडियाखानामा बचाउन सकेनौं,’ पोखरेलले थपे ।
एउटै पाटेबाघले खान्छ मासिक ६५ हजारको मासु
चिडियाखानामा पाल्नका लागि ल्याएका बाघले मासिक रुपमा करिब ६५ हजार रुपैयाँ बराबरको मासु खाने गर्छन् । अहिले दुईवटा पाटे बाघहरु छन्, प्रतापपुरबाट ल्याएको ‘प्रताप’ र चितवनबाट ल्याएको ‘चिने’ ।
पर्याप्त आहारा पाइने, पानी नजिकै भएका घनघोर जंगलमा बस्ने बिशेषता भएको पाटेबाघले जंगलमा मृग, निलगाई, बँदेल, दुम्सी तथा घरपालुवा जनावरहरुको मुख्य आहारा बनाउँथे । ‘चिडियाखानामा ल्याइसकेपछि जनावरको आहारा भने जंगलको भन्दा धेरै फरक हुन्छ,’ उनले भने, ‘जनावरको खाने कुरामा हामी एकदमै ध्यान दिन्छौं । सो जनावरले जंगलमा खाएको आहारा नै चिडियाखानामा एकदम ताजा र सफा हुन्छ ।’
खानेकुरामै जोड दिएको हुँदा औसत आयुभन्दा बढी बाँच्ने गरेको उनले बताए । उनका अनुसार बाघहरुलाई दैनिक ६ केजी राँगाको मासु खुवाउने गरिएको छ । हप्तामा एक दिन भने केही खाना पनि दिइँदैन । ‘महिनामा करिब २ पटक जिउँदै खरायो खुवाउने गरेका छौं । जिउँदै कुखुरा दिएपछि बाघले रौंसहित खान्छ । जसले गर्दा पाचन शक्तिमा सहज हुन्छ,’ उनले भने ।
पोखरेलका अनुसार बजारको मूल्यअनुसार एउटा पाटेबाघले मात्रै महिनाको करिब ६५ हजार रुपैयाँ बराबरको मासु खान्छ । बाघलाई दैनिक ६ केजी राँगाको मासु खुवाइन्छ । उनका अनुसार चिडियाखानाका स्तनधारी, सरीसृप, चराचुङ्गी लगायतका सबै जीवजन्तुको आहारामा मात्र वार्षिक रुपमा झण्डै २ करोड खर्च हुने गर्छ ।
प्रकाशित समय : १३:४५ बजे



















