global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा बेलायती संसद्मा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष लर्ड शेख, मञ्चका उपाध्यक्ष लर्ड बिलिमोरिया, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।

त्यस्तै दोस्रो दिन शनिबार दूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली सङ्गीत महोत्सवको कार्यक्रम आयोजना गरिएको थियो । उक्त दिन राजदूत डा सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टावासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै राष्ट्रपति एवं प्रधानमन्त्रीका शुभकामना सन्देशहरु पढेर सुनाएका थिए ।

त्यसैगरी तेस्रो दिन आइतबार दूतावासले नेपाल–आयरल्याण्ड समाज एवं आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्शसँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीबारे बृहत् अन्तक्रिया सम्पन्न भएको थियो ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु