Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

मेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्

न्युज कारोबार काठमाडौं कार्तिक १, २०७७       

मेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्
जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरुको हर्कतले कहिलेकाहीँ सर्वसाधारणलाई नै लज्जित बनाउँछ । जनप्रतिनिधिहरुको ‘दयालाग्दो’ काम र व्यवहार नेपालमा नौलो हैन । यस्तै घटना शनिबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखिएको छ । मेयर ममताप्रसाद चौधरीले ७ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिरहेको बेला उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा ढुंगाले हान्दै मेयरविरुद्ध नाराबाजी गरिन् । मेयर चौधरी प्रधानमन्त्री केपी शर्मा ओली गुटका हुन् । उपमेयर थापा पूर्वप्रधानमन्त्री माधव नेपाल गुटकी हुन् । मेयर चौधरी र उपमेयर थापाबीच निर्वाचित भएदेखि नै विवाद छ । शनिबार बिहान वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा शिलालेख आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले ढुंगा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जनासमेत भएको थियो । मेयरले कार्यालय भवनको उद्घाटन गर्नेबित्तिकै उपमेयर थापाले शिलालेखमा ढुंगा बजारेकी थिइन् । मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै त्यसो नगर्न भनेका थिए । तर उपमेयरले उनको आग्रह मानिनन् । शिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले ‘बाइपास’ गरेकाले त्यो अवस्था सिर्जना भएको उपमेयर थापाले प्रतिक्रिया दिइन् । कार्यपालिकामा कुनै छलफल नभइ नगर प्रमुखले एकलौटी गरेको उनको आरोप छ । वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर मेयर र उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भए पनि उद्घाटन कार्यक्रम सम्पन्न भएको बताए ।

सम्बन्धित खबरहरु