गृहपृष्ठ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ नेपाल आउन लागेका हुन् ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए । नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।
नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । त्यसैलाई मध्यनजर गरेर लिउले आसन्न नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी र नेकपा एसका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ ।
विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ मा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको हो ।
नेपालमा २०७४ को निर्वाचनयता पाँच वर्षमा फेरि संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । २०७४ मा निर्वाचन हुनुअगाडि एमाले र माओवादीलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले खुलेर भूमिका खेलेको थियो । तर, चिनियाँ पक्षको सहयोग र सद्भावका बाबजुद एमाले र माओवादी विभाजन भएर पहिलेकै अवस्थामा आइपुगे ।
नेपालमा चीनले चाहेको कम्युनिस्ट नेतृत्वको सरकार ढल्यो । चीनले लगातार रूपमा नेपालमा कम्युनिस्टहरू मिल्नुपर्नेमा जोड दिँदै आइरहेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि नै वामहरुलाई एक बनाउने चीनको तयारी देखिन्छ । त्यसमा यो भ्रमणले अर्थ राख्ने विश्लेषणसमेत भइरहेका छन् ।
प्रकाशित समय : १५:०९ बजे