nmb bank

गृहपृष्ठ राष्ट्र बैंकले रोक्यो पुनर्कर्जा

राष्ट्र बैंकले रोक्यो पुनर्कर्जा

राष्ट्र बैंकले रोक्यो पुनर्कर्जा

आगामी आर्थिक वर्षबाट पुनर्कर्जा कोषमा रहेको रकम बराबर मात्रै कर्जा जारी गरिने बताउँदै आएको राष्ट्र बैंकले असारयता यस्तो कर्जा लगानी नै रोकेको छ ।

‘हामीले असार सुरू भएदेखि नै पुनरकर्जा जारी गर्न रोकेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अहिले लगानी भइसकेको कर्जा भुक्तान हुँदै गर्दा सम्भवत आगामी आर्थिक वर्षमा यस्तो लगानी रकम कोषमा रहेको रकम बराबरको सीमामा आउन सक्छ।’

कोभिडलगत्तै राष्ट्र बैंकले आफ्नो कोषमा रहेको पाँच गुणासम्म पुनर्कर्जा सुविधा दिने व्यवस्था गरेको थियो । अर्थतन्त्र चलायमान बनाउन भन्दै यस्तो सुविधा दिन राष्ट्र बैंकले नोट नै छापेको थियो । यो सुविधालाई राष्ट्र बैंकले घटाउँदै लगेको छ ।

केही दिनअघि भएको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले जारी गरिने पुनर्कर्जा राष्ट्र बैंकको कोषमा भएको रकम बराबर मात्रै गर्ने तयारी भइरहेको समेत जानकारी दिएका थिए।  

राष्ट्र बैंकले पछिल्लो पटक आफ्नो कोषको ४.१२ गुणासम्म (दुई खर्ब १२ अर्ब रूपैयाँ) मात्रै पुनर्कर्जा दिने व्यवस्था गरेको थियो । असार लागेयता राष्ट्र बैंकले अघोषित रूपमा पुनर्कर्जा जारी गर्न बन्द गरेको छ । हाल राष्ट्र बैंकको कोषमा करिब ४२ अर्ब ४० करोड बराबर रूपैयाँ छ ।

गत पुससम्ममा बैंक तथा वित्तीय संस्थामार्फत राष्ट्र बैंकले दिँदै आएको पुनर्कर्जा एक खर्ब ५८ अर्ब रूपैयाँसम्म थियो। जेठसम्ममा भने लगानीमा रहेको यस्तो पुनर्कर्जा एक खर्ब १५ अर्ब रूपैयाँमा सीमित भएको छ । अहिले पुनर्कर्जा दिन बन्द गरिएसँगै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पुनर्कर्जा अन्तर्गतको लगानी ४२ अर्ब रूपैयाँ हाराहारी आउने अनुमान गरिएको छ ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु