nmb bank

गृहपृष्ठ प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

प्रधान सेनापति शर्मा लेबनान प्रस्थान

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेबनानतर्फ प्रस्थान गरेका छन् । प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए ।

शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेबनानतर्फ गएका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेबनान प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

टोलीले शनिबार देखि असार १० गते शुक्रबारसम्म संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सैनिकहरू तैनाथ लेबनान र त्यसपछि सिरियाका मिसनको निरीक्षण भ्रमण गर्नेछन् । मिशनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले लेबनान, सिरिया, यूएनआइएफआइएल र युएनडीओएफ मिशनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नेछन् । यो भ्रमणपछि प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक भ्रमणको लागि जाने तालिका छ । प्रधानसेनापति शर्मा असार १९ गते नेपाल फर्किनेछन् ।

उनको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित समय : १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु