गृहपृष्ठ एसपीपी सेनालाई मान्य छैन : प्रधानसेनापति
एसपीपी सेनालाई मान्य छैन : प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।
'एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,' प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने बताए ।
सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियो । 'मानवीय सहयोगका लागि चिठी लेखेको हो सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने होइन,' उनले भने ।
एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने स्पष्ट भाषामा भनिएको प्रधानसेनापति शर्माले बताए ।
प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ । उनले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताएका छन् ।
त्यस्तै सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र पनि साँचो भएको प्रधानसेनापति शर्माले स्पष्ट पारे । 'सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,' प्रधानसेनापति शर्माले भने ।
प्रकाशित समय : १६:५८ बजे