गृहपृष्ठ गणतन्त्र दिवस : ‘जनअपेक्षा पूरा हुन नसके पनि उपलब्धि कम आँक्न हुँदैन’
गणतन्त्र दिवस : ‘जनअपेक्षा पूरा हुन नसके पनि उपलब्धि कम आँक्न हुँदैन’

गणतन्त्रको १५ वर्षको अवधिमा जनअपेक्षा पूरा हुन नसके पनि प्राप्त उपलब्धिलाई कम आँक्न नहुने यहाँका बृद्धिजीवीले बताएका छन् । उनीहरुले जनताले सोचेजस्तो परिवर्तन हुन नसके पनि धेरै कुरा पूरा हुँदै गएको बताएका हुन् ।
मानव अधिकारवादी बालकृष्ण पौडेल गणतन्त्रबाट पूर्णरुपमा सन्तुष्टि हुने अवस्था नभए पनि उपलब्धिलाई कम आँक्नु गलत हुने बताउँछन् । राजतन्त्र र गणतन्त्रको दुरी आकाश र जमिनको जस्तो भएको उल्लेख गर्दै उनले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्रममा सुशासन, समृद्धि र जनताका आधारभूत कुरा जेजति गणतन्त्रमा दिनसकिन्छ, त्यो राजतन्त्रले दिन सक्दैन ।’
गणतन्त्र जनताद्वारा जनताका लागि आफैँले गर्ने शासन व्यवस्था भएको उल्लेख गर्दै पौडेलले भने, ‘जेजति उपलब्धि १५ वर्षमा भए त्यो उपलब्धि राजतन्त्रमा सयौँ वर्षमा पनि सम्भव थिएन र भएन । कसैले व्यक्तिगतरुपमा राजतन्त्रका कुरा गरिराखेका छन्, भावी सन्ततिको भविष्य नसोच्ने तथा विकासका र समृद्धिका बारेमा नसोच्नेको धारणा हो त्यो ।’
वाम बुद्धिजीवी रमाकान्त सापकोटा गणतन्त्रको दिशामा भएका संवैधानिक, कानुनी प्रक्रिया सकारात्मक भएको बताउँछन् । उनले भने, ‘गणतन्त्रमा भएका अभ्यासलाई सकारात्मकरुपमा लिन सकिन्छ ।’ राजनीतिक नेतृत्वको दलीय तथा व्यक्तिगत स्वार्थ, आग्रह, पूर्वाग्रह, प्रयोग गरिएको भाषाशैली नागरिकले रुचाउने खालका नभएको भन्दै उनले अगाडि थपे, ‘फेरि पनि संवाहक भनेको दल र दलको नेतृत्व नै हो । यदाकदा नागरिक र स्वतन्त्र व्यक्तिको योगदान रहन सक्छ । महत्वपूर्ण भूमिका खेल्नुपर्ने दलले नै हो ।’ दल र दलको नेतृत्वलाई धेरै सुधार गर्नुपर्ने अवस्था रहेको सापकोटाको भनाइ छ । उनले थपे, ‘दल र दलको नेतृत्वलाई जनताले आगामी दिनका निर्वाचनलाई प्रयोग गरेर सुधार्नुपर्छ ।’
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका सहप्राध्यापक डा.एकनारायण पौडेल गणतन्त्रले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र आफ्नो नीति नियम आफैँ निर्माण गर्ने तहमा पुर्याएको बताए । स्वायत्तताका हिसाबले केही उपलब्धि भएको उल्लेख गर्दै उनले भने, ‘स्थानीय तहमा बजेट आउने कुरा, स्थानीय तहको नीतिनियम आफैँ बनाउने कुरा, स्वयत्तताका हिसाबले केही उपलब्धि भएको छ ।’
प्रादेशिक संरचनाका कारणले खर्च बढेको पौडेलको भनाइ छ । उनले भने, ‘अधिकारसँगै भ्रष्टाचार बढेको छ । नियमन राम्रो हुन सकेको छैन । विसंगति सँगसँगै आएको छ ।’ केन्द्रीय राजनीतिको संस्कारमा परिवर्तन आउन नसकेका कारण युवामा वितृष्णा आएको पौडेलको बुझाइ छ । उनले अगाडि थपे, ‘केही निराशा पनि छ । यसलाई नेतृत्वले सच्याउनुपर्छ ।’ अधिकारको सवालमा चेतना जागेको उनले बताए ।
प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताउँदै पौडेलले भने, ‘स्वार्थकेन्द्रित नीतिनियम बनाउने, उत्तरदायित्वविहीन भएको छ । यसको सदुपयोग गरे राम्रो छ ।’ अधोगतितर्फ गइरहेको गणतन्त्रको बिग्रँदो वातावरणलाई सुधार गर्नुपर्ने उनको सुझाव छ । गणतन्त्र प्राप्तिका लागि बलिदान दिएका परिवार भने अझै सन्तुष्ट हुनसक्ने अवस्था छैन । राज्यसत्तामा पुगेकाबाट जुन अपेक्षा उनीहरुले गरेका छन्, त्यो पूरा हुन नसकेको हो ।
सहिद परिवार समाज चितवनकी अध्यक्ष संगीता भट्टराई गणतन्त्रसँगै व्यवस्था पाएको भए पनि अवस्थाको अनुभूति गर्न नसकेको बताउँछिन् । उनले भनिन्, ‘यो व्यवस्थाले बालेन, हर्क राई जस्ताको जन्म भए पनि अवस्थामा परिवर्तन हुन सकेन ।’ केन्द्रीकृत राज्य व्यवस्था भइरहँदा नेतृत्वमा पुस्तान्तरण हुन नसकेको उनको भनाइ छ । अहिलेकै नेतृत्व रहिरहँदा गणतन्त्रको अनुभूति दिलाउन नसकिएको भन्दै उनले त्यसतर्फ नेतृत्व वर्ग लाग्नुपर्ने सुझाव दिइन् । उनले भनिन्, ‘सहिदप्रति सम्मान हुनुपर्यो र अभिलेखीकरण हुनुपर्यो ।'
तत्कालीन विद्रोही पक्षबाट आफ्नो बुबा गुमाएर विस्थापित भएका विजयराज विष्ट धेरै तन्त्र फेरिए पनि युद्धका नाममा मारिएका नागरिकका परिवारको कथा फेरिन नसकेको गुनासो गर्छन् । उनले भने, ‘न्याय पाउने आशा पूरा हुन सकेन । राज्य नियम कानुनअनुसार चलोस् ।’ न्याय पाउने आम नागरिकको अधिकार कुनै तन्त्रका नाममा खोसिन नहुने विष्ट बताउँछन् ।
प्रकाशित समय : १९:५३ बजे