गृहपृष्ठ हेटौँडामा लागु औषधसहित तीनजना पक्राउ
हेटौँडामा लागु औषधसहित तीनजना पक्राउ

मकवानपुर प्रहरीले हेटौँडाको विभिन्न ठाउँबाट अवैध लागु औषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौँडा–११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी, हेटौँडा–४ पारिजातपथबाट ४५ ट्याब्लेट नाइट्रोभेटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा–५ शान्तिनगरका १९ वर्षका युवराज चौलागाईं छन् । पैदल हिँडिरहेका उनको शरीर खानतलासीको क्रममा ४५ ट्याब्लेट नाइट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, प्रहरीचौकी हेटौँडा बसपार्कको टोलीले लागुऔषध नुर्फिन, डाइजेपाम, फेनार्गन र नाइट्रोभेटसहित बकैया–४ घर भइ हेटौँडा–११ मा डेरा गरी बस्दै आएका ३३ वर्षीय लक्ष्मण घलानलाई पक्राउ गरेको छ ।
घलानको झोला खानतलासीको क्रममा लागुऔषध नुर्फिन, डाइजेपाम र फेनार्गन एक–एक सय एम्पुल र नाइट्रोभेट १०५ ट्याब्लेट फेला परेको जिल्ला डीएसपी कार्कीले बताए ।
लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रकाशित समय : २२:२८ बजे