global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका-११ स्थित मतदान केन्द्रमा खटिएका छन् । यस्तै खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाएर जिल्लाभर परिचालन गरिएको छ ।

यहीबीच प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ५ गतेभित्र नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको नामावली पठाइसक्नुपर्ने परिपत्र जारी गर्दा खेलक्षेत्र अन्योलमा छ । आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । तर त्यसको तयारी भने जिल्लामा शून्य छ ।

'प्रदेश खेलकुदमार्फत राखेपबाट जेठ २ र ३ गते प्रतियोगिताका लागि जिल्लाको छनोट गर्नुपर्ने पत्र आएको छ', जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भने, 'प्रशिक्षकसहित हामी चुनावमा खटिएका छौँ, थोरै समयमा खेलकुदको धेरै तयारी गर्नुपर्ने अवस्था छ ।'

राष्ट्रिय प्रतियोगितामा हुने कूल ३८ खेलमध्ये यहाँबाट ३० खेलका खेलाडी सहभागी हुने भए पनि उनीहरुले चाहेजस्तो प्रशिक्षण भने पाउन सकेका छैनन् । जेठमै प्रविणता प्रमाणपत्र तहको परीक्षा सञ्चालन हुँदैछ । सबै खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनसक्ने सम्भावना कमै देखिन्छ । 'खेलाडी धेरैजसो परीक्षाको तयारीमा छन्, निर्वाचनले पनि प्रशिक्षण प्रभावित बनेको छ', यहाँका एक खेल प्रशिक्षकले भने, 'राष्ट्रिय प्रतियोगिताको घोषणा त गरियो, तर सबै कुरा बुझेर गरे जस्तो लागेन ।'

उनले खेलाडीलाई मानसिक र शारीरिक रुपले तयारी गर्ने समय पर्याप्त नभएको गुनासो गरे । हतार हतारमै तयारीबिना राष्ट्रिय प्रतियोगितामा सहभागी हुने चटारो देखिन्छ । 'दशवटा तौल समूहका लागि खेलाडी मागेको छ, भर्खर सबै नयाँ खेलाडी ल्याएर प्रशिक्षण गराउँदै छु ।' अर्का प्रशिक्षकले भने, 'खेलाडी खोजेर ल्याउन पनि समस्या भएको छ ।'

प्रशिक्षक एकातिर निर्वाचनमा खटिएका छन् भने अर्कोतर्फ लगत्तै खेलाडीको छनोट सक्नुपर्ने बाध्यता छ । 'खेलाडीलाई प्रशिक्षकले सम्पर्क ल्याइरहनुभएको छ', कार्यालय प्रमुख भट्टले भने, 'जिल्ला छनोटका लागि पदाधिकारी र प्रशिक्षकबीच छलफल जारी छ ।'

कुस्तीका एक राष्ट्रिय खेलाडीले आफू कक्षा-१२ को परीक्षाको तयारीमा रहेको बताए । 'जेठमा परीक्षा छ, अहिले जिल्ला छनोटमा सहभागी हुने की परीक्षाको तयारी गर्ने भन्ने चिन्ता छ', उनले भने, 'परीक्षाको समयमा प्रतियोगिता राख्दा यहाँ धेरै खेलाडी अन्यौलमा छन् ।'

उपयुक्त समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने खेलाडीहरुको माग छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले केन्द्रको निर्देशन र सर्कुलरअनुसार यहाँ खेलाडीको छनोटका लागि तयारी भइरहेको बताए । 'जिल्लामा जेठ २ र ३ गते छनोट गरेर नामावली प्रदेशमा पठाउन भनेका छौँ', उनले भने, 'प्रदेशमा जेठ १० गतेभित्र खेलाडी छनोट गरिसक्न निर्देशन दिएका छौँ ।'

खेलाडी छनोटका लागि निर्देशिका र रकम भने राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त नभएको उनले बताए । 'परिस्थिति जस्तो सुकै भए पनि राज्यले नै बृहत राष्ट्रिय खेलकुद गर्ने भनेपछि तयारीमा जुट्नै पर्‍यो', उनले भने, 'सोहीअनुसार हामी सुदूरपश्चिममा सक्रिय भएर लागेका छौँ ।'

प्रकाशित समय : १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु