गृहपृष्ठ यस वर्ष बढी पानी पर्ने आँकलन
यस वर्ष बढी पानी पर्ने आँकलन

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो ।
विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए । उनले गण्डकी प्रदेशको उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले हनुमान गरेको बताए । उनकाअनुसार प्रदेश १ को उत्तरी भूभाग, वागमती प्रदेशको दक्षिणी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आँकलन छ ।
मौसमविद् हुमागाँईले भने, ‘अब आउने मनसुन सिजनमा वर्षाको आँकलनमा नर्मलदेखि त्योभन्दा बढी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का उत्तरी भूभाग, मधेस र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा १७ प्रतिशत हुने अनुमान गरिएको छ भने बाँकी स्थानहरुमा त्योभन्दा माथि वर्षा हुने अनुमान छ । त्योभन्दा माथि हुने प्रतिशत ३५ देखि ६५ प्रतिशतसम्म हुनसक्नेछ ।’ मौसमविद् हुमागाँईले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनहरुमा वर्षाको रेकर्ड तोडिएको बताए । उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको हो । उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताए ।
‘गत वर्षमा हामीले ६ वटा स्टेशनहरुमा मनसुन अवधिभरको वर्षामा रेकर्ड ब्रेक भएको पाएका छौँ । चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनुसुन अवधिमा भएको पाउँछौँ । यो मनसुन वर्षाले गत वर्षको मनसुन अवधिमा ल्याण्ड्स्लाइटका घटनाहरुमा ७९ जनाको निधन भएको थियो । बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको निधन भएको थियो,' मौसमविद् हुमागाँईले भने ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरे । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ-आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरे । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक हप्ताभन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताए ।
त्यस्तै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरिन् । उनले विभागमा अनुसन्धानका लागि स्किल ह्यूमेन रिसर्चहरुको आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘जापान मेट्रोलोजिकल डिपार्टमेण्टको हेर्ने हो भने पनि उनीहरुको छुट्टै रिसर्च स्टेशनहरु छ । तर अहिले पनि हामीसँग कुनै पनि रिसर्च गर्ने छुट्टै निकाय छैन । त्यस्तो खालको निकाय हामीसँग छैन । त्यसैले पनि च्यालेन्जिङ छ । इन्टिट्यूसल अराइजमेण्ट, यो लङ एज प्रकास्ट । यो सिजनको प्रकास्ट गर्नको लागि इन्टिट्यूसल अराइजमेण्टहरु पनि छैन । विभागभित्र रिसर्चहरु गर्नका लागि रिसर्च बेसिकका साइन्टिफिक रिसर्चहरु बनाउन स्किल ह्यूमेन रिसर्चहरुको पनि आवश्यक छ ।’
आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेका दक्षिणी भूभागहरुमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै अधिकतम तापक्रम देशको उत्तरी भूभाग र मधेस प्रदेशका धेरै भूभागहरुमा सरदर हुने सम्भावना ३५ देखि ५५ प्रतिशत साथै अन्य स्थानहरुमा सरदर भन्दा कम रहने सम्भावना ३५ देखि ६५ प्रतिशत रहको विभागको आँकलन छ ।
त्यस्तै विभागले न्यूनतम तापक्रम देशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र बाँकी भूभागहरुमा सरदर रहने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहने अनुमान गरेको छ ।
प्रकाशित समय : ०१:४९ बजे