गृहपृष्ठ स्थानीय निर्वाचन : एक लाख ४४ हजार ८५० उम्मेदवार चुनावी मैदानमा
स्थानीय निर्वाचन : एक लाख ४४ हजार ८५० उम्मेदवार चुनावी मैदानमा

निर्वाचन आयोगले हालसम्म प्राप्त विवरणअनुसार देशका ७५३ स्थानीय तहमा कूल उम्मेदवारको संख्या १ एक लाख ४४ हजार ८५० रहेको जनाएको छ । उम्मेदवारी दिएकामध्ये ३५ हजार २२१ जना प्रतिनिधी निर्वाचित हुनेछन् । स्थानीय तहमा उम्मेदवारी दिने र फिर्ता लिनेको विवरण चाँडै सार्वजनिक गरिने आयोगमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार ८ हजारभन्दा बढीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अर्यालले विभिन्न दल र स्वतन्त्रका तर्फबाट गरी स्थानीय तहमा कूल २३ हजार २५२ जनाले दलित वडा सदस्यका लागि उम्मेदवारी दिएको जानकारी दिए । तीमध्ये ६ हजार ७४३ जना दलित वडा सदस्यमा निर्वाचित हुनेछन् । आयोगले सबै दललाई उम्मेदवारी दर्ता गर्दा महिला र दलितको सहभागिता सुनिश्चित गर्न १७ बुँदे निर्देशन दिइसकेको बताए ।
यसैबीच आयोगले मधेशका ८ देखि १० पालिकामा मतपत्र अपुग देखिएको र त्यसको पूर्तिका लागि छपाईको काम अघि बढेको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले मधेशमा स्वतन्त्र उम्मेदवारको संख्या अत्याधिक रहेकाले मतपत्र फेरि छाप्नुपरेको बताए । उनका अनुसार ५ देखि ७ लाख मतपत्र अपुग देखिएको हाे । उनले भने, ‘हामीले अनुमान गरेको भन्दा धेरै स्वतन्त्रका उम्मेदवारी मधेश प्रदेशमा देखिए। त्यसैले निर्वाचन चिह्न नपुग्ने भयो। कति अपुग हुन्छ भोलीसम्म त्यसको डाटा आउँछ । त्यहीअनुसार हामी फेरि मतपत्र छापेर पठाउँछौं । यद्यपि तराईका केही पालिकाबाट डाटा आएको पनि छ । त्यहाँ मतपत्र रिप्रिन्टिङका लागि पठाइसकेका छौं ।’ काठमाडाैं महानगर र भक्तपुरको मतपत्र आयोगले पठाइसकेको उनले बताए ।
उनका अनुसार स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा राजनीतिक दलले एउटा पदमा उम्मेदवारी दिए पनि सात वटैमा चुनाव चिह्न राखिनेछ । आयोगले सुरूमा उम्मेदवारी दिएको पत्रमा मात्र दलको चुनाव चिह्न रहने भन्दै आएको थियो । प्रवक्ता पौडेलले कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिएको खण्डमा पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने बताए ।
उनका अनुसार निर्वाचनमा मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य तथा खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा हुन्छ । ‘यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि सो दलको सातवटै चुनाव चिह्न रहनेछ’ प्रवक्ता पौडेलले भने, ‘यदि प्रमुखमा उम्मेदवार छैन, उपप्रमुखमा छैन, वडाध्यक्षमा पनि छैन तर वडाको कुनै एउटा सदस्यमा उम्मेदवारी दिएको रहेछ भने त्यो दलको निर्वाचन चिह्न लहर रहने भयो । यसरी सातवटै चुनाव चिह्न रहने भयो ।’
प्रकाशित समय : १४:५८ बजे