गृहपृष्ठ हिमाल आरोहणबाट ४६ करोड रोयल्टी संकलन, सगरमाथामा सबैभन्दा धेरै आरोही
हिमाल आरोहणबाट ४६ करोड रोयल्टी संकलन, सगरमाथामा सबैभन्दा धेरै आरोही

यो वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित ८९९ आरोहीले अनुमति पाएका छन् ।
विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजंघा (८,५८६ मिटर) आरोहणका लागि सात समूहले अनुमति लिएका छन् ।
अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको विभागले जनाएकाे छ । मकालु (८,४६३ मिटर)मा चार, धौलागिरि (८,१६७ मिटर)का लागि दुई र ल्होत्से (८,५१६ मिटर)का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।
यस्तै नुप्से आरोहणका लागि सात, हिमलुङ चुली र थापा पिकका लागि चार/चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ लागेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ।
प्रकाशित समय : १४:०३ बजे