गृहपृष्ठ प्रदीप र सलोनीलाई सिटिजन्स बैंक टेनिस सिंगल्स उपाधि

प्रदीप र सलोनीलाई सिटिजन्स बैंक टेनिस सिंगल्स उपाधि

प्रदीप र सलोनीलाई सिटिजन्स बैंक टेनिस सिंगल्स उपाधि

प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६-२ र ६-३ को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६-०, २-६ र ६-० को सेटमा हराइन् । समग्र करियरमा प्रदीपको चौथो र सलोनीको पाँचौं सिंगल्स उपाधि हो । प्रदीप र सलोनीको जोडीले मिक्स डबल्स पनि विजेता बनेका थिए । सो स्पर्धामा पनि प्रणव र अभिलाषा उपविजेतामै सीमित भएका थिए । पुरुष/महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०/१० हजार नगद पुरस्कार हात पारे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले कमल भण्डारीलाई ६-२ र ६-२ को सिधा सेटमा फाइनलमा पाखा लगाउदै पहिलो स्थान हात पारे । ३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्ष स्थानमा रहे । उक्त जोडीले फाइनलमा कमल भण्डारी र सुमित मैनालीको जोडीलाई ६-२ र ६-४ ले पन्छाए । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी विजेता बने । विजेता जोडीले फाइनलमा यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४-६, ६-४ र १०-७ ले निराश पारे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मारे । दीपकमान श्रेष्ठ विरुद्धको फाइनलमा थापाले पहिलो सेट ४-० ले आफ्नो पक्षमा पारे । दोश्रो सेटमा थापा ३-० ले अघि रहेको अवस्थामा श्रेष्ठ ‘रिटायर्ड हर्ट’ भएपछि थापा विजेता भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले फाइनलमा निरञ्जनकुमार श्रेष्ठमाथि ६-२ र ६-० को सहज जित रचे ।

विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सदस्य-सचिव घिसिङले खेल क्षेत्रको विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको बताउदै टेनिस प्रतियोगितालाई मुख्य प्रायोजन गरेकोमा सिटिजन्स बैंकप्रति आभार प्रकट गरे ।

वैशाख ११ गतेदेखि सुरु प्रतियोगितामा १ सय ७८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । दश वटै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार ५ लाख १७ हजार ५ सय रहेको थियो । खेल राखेपको कोर्टसहित आर्मी अफिसर्स क्लब, भद्रकालीको कोर्टमा पनि भएको थियो ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु