गृहपृष्ठ आइजीपी नियुक्तिका विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै
आइजीपी नियुक्तिका विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपी नियुक्तिलगायत विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपी आजदेखि नियमित अवकाशमा जाँदैछन् । यसैबीच आइजीपी नियुक्तिलगायत विषयमा शनिबार बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी पुष्पराम केसी आजदेखि अवकाशमा जाँदैछन् । सशस्त्रको आइजीपी राजु अर्याललाई बनाउने तयारी छ ।
नेपाल प्रहरीको आइजीपीका लागि भने चार जना दौडमा छन् । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजीपी हुने दौडमा छन् ।
यीमध्ये एकलाई आइजीपी बनाउने तयारी छ। स्रोतका अनुसार प्रधानमन्त्री देउवा धिरजप्रताप सिंहलाई आइजीपी बनाउने पक्षमा उभिएका छन् । गठबन्धनको बैठकमा समेत सिंहलाई आइजीपी बनाउने वचन दिइसकेको भन्दै त्यही अनुसार तयारी गर्न गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।
प्रकाशित समय : १६:४९ बजे