गृहपृष्ठ चुनावी तालमेलको मोडालिटी तयार पार्न बालुवाटारमा सत्तागठबन्धनको बैठक
चुनावी तालमेलको मोडालिटी तयार पार्न बालुवाटारमा सत्तागठबन्धनको बैठक

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको सत्तागठबन्धनले तालमेल मोडालिटीबारे छलफल थालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरू छलफलमा जुटेका छन् ।
‘स्थानीय तह चुनाव केन्द्रित छलफल सुरू भएको छ । चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्ने तयारी छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षालगायत समसामयिक विषयमा पनि कुराकानी हुनेछ ।’
यसअघि बसेको सत्तागठबन्धन बैठकले चुनावी तालमेल गर्ने र आवश्यक विवरण संकलन गर्न प्रदेश, जिल्ला र पालिका तहमा संयन्त्र बनाउने निर्णय गरेको थियो । त्यसका लागि अध्ययन गर्न तोकिएको समयसीमा समेत आज सकिँदैछ ।
प्रकाशित समय : १६:०७ बजे