गृहपृष्ठ यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय
यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय
सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ (१)को खण्ड (ख) बमोजिम ४३ जिल्लामा अध्यक्ष नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
त्यसैगरी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने पनि बैठकले निर्णय गरेकाे छ । मन्त्री कार्कीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।
निर्णयहरू :
१. प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गर्ने भारत भ्रमणमा सहभागी हुन प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने ।
२. आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड, २०७८ स्वीकृत गर्ने ।
३. अरुण-३ जलविद्युत् परियोजनाको पहुँचमार्गअन्तर्गत छ्याङकुटी तिदिङ जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने ।
४. विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने ।
५. राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने ।
६. उत्पादनमूलक उद्योग, औद्योगिक पर्यटकका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी पहिलो कार्यविधि, २०७८ स्वीकृत गर्ने ।
७. नेपाल प्रहरीको रिक्त तीन एआइजीमा वसन्तकुमार पन्त, धीरज प्रतापसिंह र रवीन्द्र कुँवर धानुकलाई बढुवा गरी रिक्त पदमा पदस्थापन गर्ने ।
८. नेपाल-कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत गर्ने ।
९. गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धकमा लालबहादुर ऐरी (डडेलधुरा) लाई नियुक्त गर्ने ।
१०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्षमा संगीता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने ।
प्रकाशित समय : ००:२६ बजे