गृहपृष्ठ ‘सबै स्थानीय तहमा तालमेल हुन्छ, एमालेले जितेका महानगरमा हाम्रो दाबी स्वभाविक हो’

‘सबै स्थानीय तहमा तालमेल हुन्छ, एमालेले जितेका महानगरमा हाम्रो दाबी स्वभाविक हो’

‘सबै स्थानीय तहमा तालमेल हुन्छ, एमालेले जितेका महानगरमा हाम्रो दाबी स्वभाविक हो’

स्थानीय परिस्थितिको आँकलन गर्दै स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णयले गठबन्धनमा आवद्ध दलहरुलाई खासै उत्साहित बनाएको छैन । गठबन्धन कायमै राख्ने प्रयास र पार्टीभित्रको विरोधी पक्षलाई सन्तुष्ट राख्न काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मध्यमार्गी बाटो अपनाएका हुन् । तर तालमेल र भागबण्डाको विषय गठबन्धनका लागि झन जटिल देखिएको छ । किनकि सबै दलले आफु अनुकुलका स्थानीय तहमा आफ्नै दाबी रहने बताइरहेका छन् । चुनावी तालमेल र भागबण्डाका विषयमा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालसँग न्युजकारोबारका लागि सन्तोष विके थापाले गरेको कुराकानी :


नेपाली कांग्रेसले गठबन्धनकै दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय गरिसक्यो, अब तपाईँहरु आश्वस्त हुनुभयो होला नि हाेइन ?

यो आश्वस्त हुने/नहुने विषय होइन । गठबन्धन अहिलेको आवश्यकता हो । त्यहीअनुसार हामी चलिरहेका छौँ । खास गरी संविधानको रक्षा गर्नुपर्ने, लोकतन्त्रको रक्षा गर्नुपर्ने र संविधानले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने जुन आवश्यकता थियो त्यहीअनुसार हामीले गठबन्धन बनाएका हौं । गठबन्धनसँगै भएर काम गर्नुपर्ने आवश्यकता अहिले पनि छ । त्यही भएर हामी गठबन्धनका दलहरु मिलेर चुनावमा जान खोजिरहेका थियौं । कांग्रेसको निर्णय पनि त्यहीअनुसार आएको हाे ।

तर कांग्रेसले त स्थानीय तहको आवश्यकताअनुसार तालमेल गर्ने भनेको छ । त्यसको निर्णय गर्ने अधिकार पनि तल्लो तहमै हुने भनिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विरोधी समूहलाई पनि सन्तुष्ट बनाउने, अनि तपाईँहरुलाई पनि खुशी बनाउने गरी निर्णय गर्नुभयो । यसले तपाईँहरुकै चाहनाबमोजिम गठबन्धन भयो भन्ने देखाउँछ त ?

नीतिगत निर्णय माथिबाट गर्ने हो । व्यवहारिक रुपले तालमेल गर्ने विषय तल्लो तहबाटै छिनोफानो लाग्छ । सबै कुरा माथिबाटै निर्देशित गरेर मात्रै पनि हुँदैन । कांग्रेसले ‘अवस्था र आवश्यक्ता’ भनेको छ । यो भन्दैमा कांग्रेसले आफ्नो पकड नभएका क्षेत्रमा तालमेल गर्न खोज्ने र अरुको पडक भएका क्षेत्रमा गर्न खोजेर त हुँदैन नि ।

ठूलो पार्टी भएको अहंकार देखाए जसरी कांग्रेसको निर्णय आएको जस्तो पनि देखिन्छ ?

हुन त अलि बढी आशंका गर्ने चलन छ नेपालको राजनीतिमा । यस अघिदेखि नै गठबन्धन हुन्छ कि हुँदैन भनेर आशंका गरिएको थियो । पार्टीभित्र मतभेदहरु रहन्छन् तर पनि संस्थागत निर्णय के हुन्छ भन्ने कुरा हो । अब नीतिगत रुपमा गठबन्धनका दलहरुबीच तालमेल गरेरै जाने भन्ने भइसकेपछि ‘आवश्यक्ता, अवस्था’ भन्ने पनि सबैतिर हुँदैन । आवश्यकता त सबै ठाउँमा भइहाल्छ नि ।

भनेपछि सबै ठाउँमा तालमेल नहुन पनि सक्छ । आवश्यकता अनुसार नै चल्न तपाईँहरु तयार हुने हो ?

होइन, मैले देखेको त सबै ठाउँमा चुनावी तालमेल हुन्छ । किन भने सबै वडा कसैले पनि जितेको छैन । वडा तहमा तालमेल भयो भने पालिका तहमा पनि तालमेल हुन्छ । भोट आखिर वडाबाट आए पनि पालिकामा जाने हो । तल्लो तहमा एउटालाई भोट दिएर माथिल्लोमा अर्काेलाई दिने कुरा पनि हुँदैन ।

त्यसो भयो ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल हुन्छ ?

हुन्छ । अहिलेसम्म गठबन्धनका दलहरुले जुन प्रकारका निर्णय गरेका छन्, सबै तहमा तालमेल हुन्छ । हुनुपर्छ ।

अहिले गठबन्धनमा पाँच दल आवद्ध छन् । कांग्रेसले आवश्यकताकाे आधारमा तालमेल गर्न खोजे अन्य चार दलबीच ‘गठबन्धन भित्रैबाट गठबन्धन हुनसक्छ’ भनिएको छ । यो खालको सम्भावना हो ?

मलाई त त्यस्तो लाग्दैन । पाँचवटै दलहरुबीच तालमेल हुन्छ ।

आज सत्ता गठबन्धनको बैठक बस्दैछ । यो बैठकले महानगरबारे निर्णय गर्ने भनिएको छ । महानगरपालिकामा गठबन्धनले कसरी छलफल गर्दैछ ? एकीकृत समाजवादीको दाबी के हो ?

आज सैद्धान्तिक छलफल हुन्छ । ठोस निर्णय त हुँदैन । हाम्रो दाबी स्वभाविक ठाउँमा हुन्छ ।

यसअघि एमालेले जितेका सबै महानगरमा एकीकृत समाजवादीले दाबी गर्ने कुरा आएको छ । कुरा त्यही हो ?

त्यो त स्वभाविक कुरा हो नि । हिजो एमालेले जितेका महानगर त हामीले जितेको हो । आफूले जितेको क्षेत्रमा दाबी गर्नु र पाउनु स्वाभाविक हो । फेरि दाबी गर्नु र सहमति गर्नु फरक कुरा हो । छलफलबाट सहमतिमा पुग्छौं ।

काठमाडौं र पोखरा महानगरपालिकामा तपाईँहरुको मुख्य दाबी छ । काठमाडौं र पोखराजस्ता क्षेत्र नै तपाईँलाई दिएपछि कांग्रेसले किन तालमेल गर्ला ?

हामीले दाबी गर्ने भनेकै हिजो एमालेले जितेका ठाउँमा हो । किन भने हामी हिजो त्यही थियौं । हामीले जितेको ठाउँमा हामीले छोड्ने कुरा त हुँदैन ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु