गृहपृष्ठ मौकामा चौका : सौदाबाजी गर्दै दल फेरबदल
मौकामा चौका : सौदाबाजी गर्दै दल फेरबदल

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘इनर्जी’ देखेर ताज्जुबै लाग्ने बताएकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले चैत ८ मा एमाले प्रवेश गरिन् । एमाले प्रवेश गर्न रातो साडीमा चिटिक्क परेर काठमाडौंको एक प्यार्टी प्यालेसमा उपस्थित भएकी उनलाई एमाले अध्यक्ष ओलीले हर्षविभोर हुँदै पार्टीमा स्वागत गरे । स्वागत समारोहमा उपस्थित एमालेजनहरु पनि अभिनेत्री मानन्धरको प्रवेशले बहुत खुश देखिन्थे ।
नेपाली चलचित्र क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रिय रहेकी मानन्धर यसअघि पनि उस्तै फूर्ति र साजसज्जासहित डा. बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति नेपाल नाम गरेको पार्टीमा प्रवेश गरेकी थिइन् । डा. भट्टराई दंग थिए । तर बाबुरामसँग तिक्तता चुलिएपछि त्यो पार्टीसँग उनको सम्बन्ध विच्छेद भयो । संयोगजस्तै करिश्मा बाहिरिएपछि नयाँ शक्ति अन्य पार्टीमा विलिन भयो ।
एमालेमा करिश्मा यतिकै आएकी होइनन् । उनले १२ पास गरेको अवसरमा केही महिनाअघि मात्रै ओलीले फोन गरेर बधाई दिएपछि त्यसको ‘स्क्रीन सट’ नै सार्वजनिक गरेर करिश्माले ‘खुशीमनाउ’ गरेकी थिइन् । त्यति बेलाकै ओलीको फोनले त्यसयता दुईपटक भेटवार्ता जुराएर एमालेसम्म करिश्माकाे यात्रा तय भएको हो । अब उनी एमालेबाट गायिका कोमल वलीजस्तै सांसद बन्ने वा काठमाडौंको उपमयेरमा आउने चर्चा छ ।
निर्वाचनको मुखमा अवसर हेर्दै पार्टी प्रवेश गर्ने उनीमात्रै एक्ली पात्र होइनन् । करिश्माले एमाले प्रवेश गरेकै दिन पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर सिंहलाई पनि ओलीले पार्टीमा स्वागत गरे । विडम्बना, चर्चित अभिनेत्रीसँगै एमाले प्रवेश गरेका सिंह सिंगो पार्टी लिएर डेरा सार्न पुगे पनि छाँयामा परे । किनकि, सिंहको सिंगो 'समाजवादी जनता पार्टी'को प्रवेशभन्दा करिश्मासामु एमाले लठ्ठिएको थियो ।
यसै पनि सिंह नेपाली राजनीतिमा ‘अवसरवादका नमूना’ भनेर चिनिन्छन् । आजभन्दा १८ वर्षअघि एमालेमै सक्रिय रहेका उनी त्यसयता अवसरका लागि धेरै पार्टी चहार्दा-चहार्दै तीनपटक मन्त्री भइसकेका छन् । एमाले अध्यक्ष ओलीकै सरकारमा २०७२ मा कानुनमन्त्री बनेका उनी ७३ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए । २०७१ माघमा एमाले अध्यक्ष ओलीलाई ‘मानसिक रोगी’ भन्दै उपचार गर्न सुझाव दिएका सिंहले २०७८ चैत ८ मा आएर ओलीबाटै एमालेको खादा पहिरिए । सिंहले अब एमालेबाट टिकट पाउने पक्कापक्की जस्तै छ ।
निर्वाचनको मुखमा ‘टिकट फिक्स’ गर्दै पार्टीका झण्डा फेर्नेहरुको संख्या बाक्लिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलमा नेता-कार्यकर्ता प्रवेश र पार्टी फेरबदलका दृश्यहरु एकपछि अर्काे थपिँदाे छ । करिब तीन सातायता मात्रै नगर, महानगर प्रमुखसम्मले अर्को पार्टी रोजेका छन् । कार्यकर्ता-मतदाताले भने नेताको दल फेरबदललाई अवसरवादी प्रवृत्तिका रूपमा चित्रण गर्ने गरेका छन् ।
वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्रै डेढ महिना जतिको समय बाँकी रहेका बेला आगामी चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर नेता-कार्यकर्ता फकाउन पार्टीका शीर्ष तह नै सक्रिय छ । गत मंसिर २७ मा पर्साको सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमती देवी चौधरी र जगरनाथपुर गाउँपालिका-६ का वडाध्यक्ष अजोध्या कुर्मी जसपा छाडेर एमाले प्रवेश गरे ।
पुस ८ गते पर्साको जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ एमालेमा प्रवेश गरे । मियाँ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पुस १९ गते नेकपा एमालेबाट निर्वाचित अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन् । माघ २२ गते कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा विजयी भएका शाह कांग्रेस प्रवेश गरेका हुन् । शाहसँगै नगरपालिकाको वडा नं. ९ का वडाध्यक्ष राममिलन चौधरी, वहुजन पार्टीका नेता चतुर्भुज कहांर पनि कांग्रेस प्रवेश गरेका थिए ।
माघ २७ गते रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले आफ्नी पत्नी पल्लवी शुक्लालाई एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवारसमेत बनाएका थिए । पछिल्लो समय सीके राउतको जनमत पार्टीसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बोलाएरै पार्टीमा स्वागत गरे ।
फागुन २ गते रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरे । यादव यस अघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा)को गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
फागुन २४ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरे । नेकपा (एमाले) पार्टी त्यागेका अध्यक्ष क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा एमालेको जिल्ला अध्यक्ष नपाएपछि असन्तुष्ट बनेका क्षेत्री कांग्रेसबाट प्रदेशसभा सदस्य टिकट पाउने गरी प्रवेश गरेको बताइनछ । तर उनले न्युजकारोबारसँग कुराकानी गर्दै पदका लागि आफूले पार्टी फेरबदल नगरेको तर्क गरे । ‘म कुनै पदका लागि कांग्रेसमा प्रवेश गरेको होइन । एमालेसँग सिद्धान्त सकिएपछि कांग्रेसको विचारमा समाहित भएको हुँ,’ उनले भने, ‘तर यति भन्दैमा म कांग्रेसमा जोगी हुन आएको पनि होइन । नेतृत्वले मलाई विश्वास गरेर जिम्मेवारी दिए प्रदेशमा जान सक्छु ।’ क्षेत्रीसँगै एमाले जिल्ला सदस्य सुभाष सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन् ।
फागुन २५ गते मोरङको रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया र उपमेयर केशवकुमारी खराल पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । फागुन २६ गते पर्साको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु) नेपाली कांग्रेसमा प्रवेश गरे । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली जनता दलबाट रौनियार पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
फागुन २८ गते शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए । उनी एमाले प्रवेश गर्ने भएपछि एमाले अध्यक्ष ओली नै वीरगञ्ज पुगेर तामझामपूर्ण स्वागत गरेका थिए । उनलाई आगामी निर्वाचनमा पुनः मेयरमा उठाउने र जिताउनेसम्मकाे आश्वसन ओलीले दिएका छन् । फागुन २८ मै बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी पनि जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मिल्दाजुल्दा सैद्धान्तिक विचारधाराका दलहरूबीच मात्र नेता-कार्यकर्ताको 'बसाइँ-सराइ' भइरहेको छैन, बिल्कुल पृथक धारका दलमा पनि फेरबदल देखिएको छ । काभ्रेमा लामो समय राप्रपाको राजनीति गरेका नेताले कम्युनिस्ट विचारधारा अँगालेका पुगेका छन् । राप्रपाका तत्कालीन जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, गंगामाया लामा, सचिव धनजित लामासहित ४९ सदस्यीय जिल्ला कार्यसमितिका ३१ जना एमाले प्रवेश गरेका छन् । श्रीदास र धनजित रोशी गाउँपालिका वडा १ र ३ का वडाध्यक्ष हुन् । राप्रपाका नेता एवं पोखराका पूर्वमेयर भीमसेन थापा एमालेमा प्रवेश गरेका छन् ।
यस्तै, कम्युनिष्ट विचाराधाराका नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । यसलाई राजनीतिक विश्लेषकहरु ‘पोलिटिकल सेटलमेन्ट’का अर्थ्याउँछन् । ‘एक समय थियो कम्युनिष्टहरु कम्युनिष्ट विचाराधाराकै दलमा प्रवेश गर्थे । कांग्रेसीहरु कांग्रेससँग विचार मिल्ने पार्टीमा मात्रै गएको देखिन्थ्यो । तर अहिले त्यो अवस्था करिब छैन । नेपालमा विचारधारात्मक र चरित्रका रुपले कुनै पार्टी फरक हो भन्ने नै देखिएन,’ राजनीतिक विश्लेषक मुमाराम खनालले भने, ‘यो एउटा खतरनाक प्रवृत्ति हो । सबै पार्टी एउटै हुन् भन्ने बुझाई आम कार्यकर्तामाझ पुगिरहेको छ । माथिल्लो नेतृत्वमा स्वार्थ मिले सबैसँग तालमेल गर्ने प्रवृत्ति मौलाएकै कारण तल्लो तहमा समेत जुनसुकै पार्टीसँग पनि मिले हुन्छ भन्ने संस्कारको विकास भइरहेको छ । अहिले देखिएका फेरबदल पनि यसकै उपज हो ।’
स्थानीय तहमा मात्रै होइन, पार्टी फेरबदल पूर्वमन्त्रीहरु र पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका नेताहरुबाट समेत भइरहेको छ । मंगलबारमात्रै पूर्वमन्त्रीसमेत बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई स्वागत गर्न एमाले अध्यक्ष ओली कपिलवस्तु पुगे । यहाँ प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवसहित झण्डै दर्जन जनप्रतिनिधि एमाले प्रवेश गरेका छन् । यसलाई एमाले नेताहरुले आफ्नो विचारप्रतिको आकर्षणका रुपमा चित्रित गर्छन् । पार्टीले लिएको विचाराधारा र समृद्धिको एजेन्डाप्रतिको आकर्षणका कारणले एमालेमा प्रवेश गर्नेकाे संख्या बढ्दाे रहेकाे पूर्व गृहमन्त्रीसमेत रहेका एमाले नेता खगराज अधिकारी बताउँछन् । उनी भन्छन्, ‘हामीसँग आउने कुनै लाभका लागि होइन । हाम्रा एजेन्डामा व्यापक समर्थन जनाएर उहाँहरु प्रवेश गर्नुभएको हो ।’
यसरी पार्टी फेरबदल गर्नेहरु कुनै न कुनै आश्वासन वा सहमतिका साथ पार्टी प्रवेश गरेका छन् । चुनावकाे मुखमा नवप्रवेशीकाे व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने न्युजकाराेबारकाे प्रश्नमा एमाले नेता अधिकारीले भने, 'क्षमता अनुसारकाे जिम्मेवारी दिने कुरामा एमाले पछि हट्दैन । एमालेमा किन आइएछ भन्ने कसैलाई बनाइँदैन ।'
चुनावको मुखमा पार्टी प्रवेश गर्ने नेता-कार्यकर्ता सैद्धान्तिक रूपमा प्रतिवद्ध भएर नआउने राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक प्राडा राजकुमार पोखरेल बताउँछन् । ‘चुनावकाे मुखमा कुन चाहिँ नेता सिद्धान्त मात्र हेरर प्रवेश गर्छ । मानिसहरु सबैभन्दा पहिले आफू रहेको दलले टिकट नदिएपछि अर्काे दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्ने गरेको बढी देखिएको छ,’ उनकाे दाबी छ ।
फलतः सिद्धान्त, विचार र मुद्दाभन्दा व्यक्तिगत स्वार्थका लागि राजनीतिक दल परिवर्तन गर्ने लहर नै चलेको देखिन्छ । एमालेबाट निर्वाचित कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढामगर माओवादी केन्द्र प्रवेश गरेकी छन् । जाजरकोट जिल्ला समन्वय समिति उपप्रमुख ज्ञानीप्रसाद शर्मा कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गरेका छन । जाजरकोटको बारेकोट गाउँपालिकामा माओवादी केन्द्रबाट वडाध्यक्षका पराजित उम्मेदवार योगेन्द्र सिंह कांग्रेसमा लागेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशसभाका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट पनि एमाले प्रवेश गरेका छन् ।
लामो समयदेखि मधेसकेन्द्रित राजनीति गर्दै आएका लोसपाका नेता राजेशमान सिंहले एमाले प्रवेशको तयारी गरेका थिए । तर फागुन २८ मा वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी एमालेमा प्रवेश गरेपछि उनी झस्किए । किनकि उनी एमालेमा प्रवेश गरेर त्यही महानगरको मेयर बन्ने तयारी गरेका थिए । सरावगीले मेयर नै पाउनेगरी एमालेमा गएपछि उनी जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए । सिंह २०७४ को स्थानीय चुनावमा वीरगन्जमा नगरप्रमुखमा उठेका थिए ।
प्रकाशित समय : २०:३१ बजे