गृहपृष्ठ तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत एकै गाउँका

उच्च शिक्षाका लागि विदेश जाने तथा वैदेशिक रोजगारप्रतिको आकर्षणले निजामती सेवामा म्याग्देलीहरुको पहुँच बढ्न सकेको छैन् । तर पछिल्लो समय स्वदेशमै अध्ययन गरी निजामती सेवाबाट सरकारी जागिरतर्फ प्रवेश गर्नेहरुको आकर्षण बढ्दै गएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत म्याग्देली नै बनेका छन्, त्यो पनि एकै ठाउँका ।

मंगला, रघुगंगा र धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेनी नगरपालिका-६ अर्थुंगेका क्रमश: मनोहर ढुंगाना, अमृत सुवेदी र पूर्णबहादुर खत्री हुन् । मंगलाका प्रमुख प्रशासकीय अधिकृत ढुंगाना २०७३, रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी २०७४ र धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत खत्री २०७८ मा निजामती सेवा राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका हुन् ।

रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले २०६९ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । क्रमश: सुब्बा हुँदै अधिकृत पदमा पुगेका हुन् । मंगलाका प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले २०६८ सालमा न्याय सेवातर्फ खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

तीनैजना अधिकृतले अर्थुंगेकै जामुनाखर्क माविबाट विद्यालय तहको पठनपाठन गरेका थिए । विद्यालयका पूर्वविद्यार्थीहरु गृहजिल्लाकै तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुगेकाे गौरवको विषय भएको जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानाले बताए । 'विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राज्यको उच्च पदस्थ स्थानमा पुग्नेक्रम बढेको छ, पूर्वविद्यार्थिहरु निजामती, शिक्षक सेवा र बैंकिंङ क्षेत्रमा ठूलै संख्या आबद्ध छन्, विद्यालयका लागि गौरव र अन्य विद्यार्थीहरुका लागि प्रेरणाका रुपमा लिएका छाैँ,' प्रअ ढुंगानले भने ।

यस विद्यालयले विभिन्न समयमा निजामती, शिक्षक सेवा लगायतका सरकारी सेवा प्रवेशमा विद्यार्थीहरुको उत्सुकता बढाउन अभिमुखीकरण लगायतका कामहरु गर्दै आएको छ । सोही विद्यालयमै अध्ययन गर्नुभएका नगेन्द्र सुवेदी (२०७५) थासाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् । शान्ति पौडेल (२०७३) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत, यसोदा सुवेदी (२०७४) पर्वतको फलेवास नगरपालिकाको लेखा अधिकृत र रामप्रसाद पौडेल (२०७५) गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा शाखा अधिकृतमा कार्यरत छन् ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु