गृहपृष्ठ शिविरमा एघार सयको स्वास्थ्य जाँच

शिविरमा एघार सयको स्वास्थ्य जाँच

शिविरमा एघार सयको स्वास्थ्य जाँच

इलाम नगरपालिका-७ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् । सोमबार र मंगलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिएका हुन् ।

इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् । त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।

दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी गराए । शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवं रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो ।

इलाम-७ ले गएको वर्ष कोरोना महामारीबाट वडावासीलाई जोगाउन १० लाख रकम खर्च गरेको थियो । यस वर्षसमेत इलाम अस्पताललाई १० लाख रकम कोरोना संक्रमण बढ्न सक्ने भन्दै वडाले विनियोजन गरेको थियो । सोही रकमबाट शिविर सञ्चालन गरिएको इलाम-७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । शिविरमा आएका बिरामीलाई नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो ।

प्रकाशित समय : १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु