गृहपृष्ठ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता ‘कन्क्लेभ-कनेक्ट इन’ भोलि सम्पन्न हुँदै
तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता ‘कन्क्लेभ-कनेक्ट इन’ भोलि सम्पन्न हुँदै

काठमाडौँमा भोलि अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ-कनेक्ट इन (International Entrepreneurship Conclave-Connect [IN]) को तेस्रो संस्करण सम्पन्न हुँदैछ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको 'आजादीका अमृत महोत्सव'अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो ।
यसै महोत्सवअन्तर्गत आउने वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘[email protected] आइडियाथन’ को आयोजना गरिदैछ । यो कनक्लेभ २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको भए पनि कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो ।
यस कार्यक्रमको सह-आयोजकमा ‘Clockb Business Innovations’ हो भने अन्य साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन् । यसका अघिल्ला दुई संस्करणहरुमा, ‘Connect IN’ ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुमा एक अर्काका अनुभव साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको छ ।
हालको संस्करणमा Connect (IN)ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकका संर्षको कथालाई समावेश गरेको छ । यी कथामा भारतको सबैभन्दा ठूलो सामाजिक ई-कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो (Meesho) तथा तथ्यांक विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिंगबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी Elucidata रहेका छन् । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप (F1Soft Group) तथा ई-कमर्श पोर्टल सस्तो डिल (Sastodeal) रहेका छन् ।
कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चारणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागता व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत छलफल गरिनेछ । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी Credenc सहभागी हुनेछन् । नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौँका वक्ताहरुले पनि बोल्नेछन् ।
‘Connect IN’ प्रक्रियाः ‘Connect IN कन्क्लेभ’का लागि २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि-इभेन्ट एक्टिभेसन क्याम्प’ को सञ्चालन गरिएको थियो । सो क्याम्पको सञ्चालन पश्चात ८० जना युवा उद्यमीले ‘Incubation’ र ‘Mentorship Module’ का लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो । प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवा अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।
यसै वर्ष ‘Connect IN’ कै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि वैशाख ७ गते सम्म ‘[email protected] आइडियाथन’ को आयोजना गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्ने तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौती, प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ ।
काठमाडौँका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु [email protected] आइडियाथनका सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ-आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याको समाधान आ-आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिको एक निर्णायक मण्डलले २०७८ चैत्र ०६ गते विजेता टोली चयन गरी अवार्ड घोषणा गर्नेछ ।
प्रकाशित समय : १९:३५ बजे