गृहपृष्ठ आठ महिनामा ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा
आठ महिनामा ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२.१३ प्रतिशतले बढेको हो ।
वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो आठ महिनाको तुलनामा चालु आवमा ३४.५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा आठ खर्ब ६३ अर्ब माथि थियो ।
विभागका अनुसार गत आवको पहिलो आठ महिनाका आधारमा मुलुकमा आयात ३८.६४ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्ममा नौ खर्ब ४३ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात १३ खर्ब आठ अर्ब पुगेको छ । त्यस्तै २०७७/७८को पहिलो आठ महिनाका तुलनामा चालु आवको निर्यात ८२.९० प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म ८० अर्ब ७७ करोड बराबरको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा एक खर्ब ४७ अर्ब बढीकोे निर्यात भएको छ ।
सार्वजनिक विवरणअनुसार गत आवको पहिलो आठ महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१२ प्रतिशत रहेकामा यस्तो हिस्सा २.४५ प्रतिशतले घटेर चालु आवमा ८९.८६ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८.६९ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.८८ प्रतिशत रहेकामा चालु आवमा १०.१४ प्रतिशत पुगेको छ ।
चालु आवको आठ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आवको फागुन महिनासम्म मुलुकमा ८७ अर्ब ८३ करोड मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास ४० अर्ब ६४ करोड बराबरको तथा पेट्रोल ३९ अर्ब ८५ करोड बढीको भित्रिएको विभागले जनाएको छ ।
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्यांक अनुसार स्वदेशबाट ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाएको छ ।
त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेल जस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रसोधनपश्चात निर्यात हुने गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो आठ महिनासम्म ३५ अर्ब ३३ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।
त्यसैगरी नौ अर्ब ४९ करोड बराबरकोे गलैंँचा तथा टेक्सटायल, पाँच अर्ब ८९ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय : ००:२१ बजे