गृहपृष्ठ तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार
तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार

युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले 'कनेक्ट इन'को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ ।
क्लक वी विजनेस इनोभेशन्स् र काठमाडौं स्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता हुनेछन् ।
सम्मेलनमा १५ बढी नेपाली र भारतीय प्रख्यात वक्ताहरूले आ-आफ्ना अनुभव आदानप्रदान गर्नेछन् । सम्मेलन अन्तर्गत यही चैत १ गते भएको आइडिया अडिशनबाट आफ्ना स्टार्टअप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्टअप व्यवसाय मध्ये प्रतिस्पर्धाका आधारमा उत्कृट चार उद्यमी छनोट भएका थिए । तेक्का प्रालि, बोया फ्रेस प्रालि, सारंग प्रालि र वेद प्रालि उत्कृष्ट छनोट भएका थिए ।
सम्मेलनमा उत्कृष्ट चार उद्यमीले नेपाल र भारतका प्रख्यात उद्यमीका बीच आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्नेछन् । सम्मेलन नेपाल र भारतका युवा उद्यमीलाई सम्मेलनमा आपसी छलफल, नयाँ-नयाँ अवधारणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा मञ्च हुने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले मुलुकको सुन्दर भविष्य निर्माणका लागि युवा शक्तिले नव प्रवर्तनका कार्य गर्नुपर्ने र स्टार्टअपका लागि भारत सरकारको सहयोग रहने बताए ।
सम्मेलनको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका दौरान तीनवटा सामूहिक छलफल सञ्चालन हुनेछन् ।
प्रकाशित समय : २३:४४ बजे