गृहपृष्ठ हावामा संस्कृति संरक्षणको लागि सुनुवार संग्रहालय स्थापना
हावामा संस्कृति संरक्षणको लागि सुनुवार संग्रहालय स्थापना

सुनुवार समुदायको संस्कृति संरक्षणको लागि दोलखाको तामाकोशी गाउँपालिकामा सुनुवार संग्रहालय स्थापना गरिएको छ । जिल्लाको तामाकोशी गाउँपालिका-७, हावामा निर्माण गरिएको संग्रहालयकाे तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले उद्घाटन गरे ।
गाउँपालिकाको विभिन्न वडामा बसोबास गरेका सुनुवार समुदायको लोप हुन लागेको संस्कृतिको संरक्षण गर्न सो समुदायसँगको समन्वयमा संग्रहालयकाे स्थापना गरिएको पालिका अध्यक्ष पोखरेलले बताए । संग्रहालयले सुनुवारको संस्कृति संरक्षण मात्र नभइ संग्रहालयकाे अध्ययनका लागि विभिन्न ठाउँबाट पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । संग्रहालय २७ लाख ६५ हजार लागतमा संग्रहालय स्थापना गरिएको हो ।
संग्रहालयमा परापूर्वकालदेखि सुनुवारले प्रयोग गर्दै आएका विभिन्न सामग्री, वेषभूषा, बाजा-गाजालगायतका सामग्री संरक्षण गरेर राखिएको स्थानीयवासी नवीन सुनवारले बताए । दोलखाको तामाकोशी गाउँपालिकाको च्यामा, हावा लगायतको क्षेत्रमा बाक्लो मात्रामा सुनुवार समुदायको बसोबास रहेको छ । संग्रहालय निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता भुवानी सुनुवारलाई गाउँपालिकाले सम्मान गरेको छ ।
प्रकाशित समय : १९:३८ बजे