global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ थकाली समुदायमा राैनक, आज ‘तोरन ल्ह’ मनाउँदै

थकाली समुदायमा राैनक, आज ‘तोरन ल्ह’ मनाउँदै

थकाली समुदायमा राैनक, आज ‘तोरन ल्ह’ मनाउँदै

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत 'तोरन ल्ह' पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगार पटार गरेका छन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका सचिव योगेन्द्रमान शेरचनले बताए । 'तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ', शेरचनले भने, 'आफन्तलाई बोलाएर मीठा मीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।'

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ ।

परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) सुरु भएको छ । तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ ।

कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ । आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसंख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली समुदायका अगुवा गोपाल भट्टचनले बताए ।

एउटा समुहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ । एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र मा कोपिएका आधारमा खेलको मूल्यांकन हुन्छ ।

फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु