गृहपृष्ठ कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो, चौथो खोप आवश्यक
कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो, चौथो खोप आवश्यक

युरोपका थुप्रै मुलुकमा ‘डेल्टाक्रोन’ नामक कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । यो डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रणबाट बनेको हो । तर, अहिले नै यो अत्यन्तै तीव्र गतिमा सर्ने वा अन्यभन्दा घातक छ कि छैन भन्ने स्थिती खुलेको छैन ।
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले सानो संख्यामा डेल्टाक्रोन फ्रान्स, नेदरल्यान्डस् र डेनमार्कमा भेटिएको पुष्टि गरेको छ। कोभिड-१९ विरुद्धको फाइजर खोप निर्माण कम्पनीका अध्यक्ष अल्वर्ट बोर्लाले पूर्ण रुपमा खोप लिइसकेकाहरुले सन् २०२२ को उत्तरार्धमा चौथो खोप लिनुपर्ने बताएका छन् । उनले आगामी केही वर्षसम्म पनि कोभिड-१९ समाप्त नहुने बताएका छन् ।
‘मानिसहरुले भाइरससँगै बाँच्न सिक्दैछन् । अब चौथो डोज अर्थात दोस्रो बुस्टरको आवश्यकता छ । तेस्रो डोजबाट मानिसले पाइरहेको प्रतिरक्षा वास्तवमा अस्पतालमा भर्ना हुनु नपर्ने र बिरामी नमर्ने सवालमा राम्रो देखिएको छ । यो बुस्टर संक्रमणविरुद्ध त्यति धेरै राम्रो नहुनुका साथै यसको प्रभाब धेरै दीर्घकालीन पनि छैन’, उनले सीबीएस न्युजको ‘फेस दि नेसन’ नामक कार्यक्रममा भनेका छन् ।
फाइजरले अहिले ओमिक्रोनलगायत सबै प्रकारका भेरियन्टबाट बचाउने खोप बनाउन खोजिरहेको छ । तर, यसको उद्देश्य भने त्यस्तो खोपले कम्तिमा एक वर्षसम्म रक्षा गरोस् भन्ने हो ।
के हो कोरोनाको ‘डेल्टाक्रोन’ भेरियन्ट ?
साइप्रसस्थित एक शोधकर्ताका अनुसार डेल्टाक्रोन भेरियन्ट कोरोना भाइरसको एउटा यस्तो स्वरुप हो । जुन डेल्टा र ओमिक्रोन मिलेर बनेको छ। यो स्ट्रेनलाई हाल ‘डेल्टाक्रोन’ नाम दिइएको छ। तर, यो डब्लूएचओले दिएको आधिकारिक नाम भने होइन। नयाँ भेरियन्टको नाम डब्लूएचओले दिने गरेको छ।
गत जनवरी ७ मा साइप्रसका वैज्ञानिकहरूले यो भेरियन्टलाई पहिलो पटक पुष्टि गरेका थिए। तर, डब्लूएचओले यसलाई पुष्टि भने गरेको भने छैन। साइप्रस विश्वविद्यालयमा जैविक विज्ञानका प्राध्यापक रहेका वैज्ञानिक डा. लियोनडिओस कोस्त्रिकिसले नेतृत्व गरेको वैज्ञानिकहरूको टोलीले पहिलो पटक यो भेरियन्टबारे थाहा पाएको थियो।
उनीहरुका अनुसार कोराना भाइरसको यो स्वरुपमा डेल्टा भेरियन्टको जस्तो जिनोम र ओमिक्रोनको जस्तो विशेषता पाइएको थियो। उनीहरुका अनुसार साइप्रसमा कुल २५ जनामा यस्तो भेरियन्टको संक्रमण पाइएको छ। तीमध्ये केही अस्पताल भर्ना भएका थिए भने केही समुदायमा थिए।
वास्तविक भेरियन्ट कि प्रयोगशालाकाे त्रुटि ?
‘डेल्टााक्रोन’ कोरोना भाइरसको वास्तविक भेरियन्ट हो वा प्रयोगशालामा भएको त्रुटि हो भन्ने चाहिँ पुष्टि भइसकेको छैन । न त यसको नाम नै आधिकारिक हो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म यो भेरियन्टबारे देखिएको चर्चापछि चिकित्सक तथा विशेषज्ञहरूले अनुसन्धान थालेका थिए ।
बेलायतको ‘वेल्लकम सेन्गर इन्सचिच्युट’मा कोभिड-१९ ‘जेनामिक्स इनिसिएटिभ’का प्रमुख रहेका डा. जेफ्फरी ब्यारेटाका अनुसार भाइरसको यो किसिमको नयाँ स्वरुप प्रयोगशालाकै त्रुटि हुनपर्ने बताएका छन्। ‘यो जैविक रुपमा भएको डेल्टा र ओमिक्रोनको म्युटेसन होइन’, उनले भनेका छन्।
प्रकाशित समय : १३:५८ बजे