गृहपृष्ठ हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित
हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित

पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । कोभिड-१९ संक्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन् । होटल व्यवसाय संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०/२५ जना आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रुपमा वृद्वि हुने विगतको तथ्यांकले देखाएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा एक हजार तीन अन्य देशका पर्यटकले भ्रमण गरेका छन् । धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनबारी, लौरिविनायक, गोसाइँकुण्डसम्म र लाङ्टाङ् पदमार्गको स्याफ्रुबेँसीहुँदै लाङ्टाङ क्याङ्जेन सम्मका पर्यटकीय पदमार्गका होटल सञ्चालनमा आएको गजुरेल बताउँछन् ।
हिमाली पदयात्राका लागि आउनुभएका भारतीय यात्रु अमित पवार भन्छन्,'जीवनमा एकपटक पुग्नैपर्ने तीर्थ भएकाले भगवानको दर्शन गर्न आएका हौँँ ।' पर्यटकको आगमनसँगै पदमार्गका होटल व्यवसायी खाध्यान्न ढुवानीमा व्यस्त हुन थालेका छन् ।
यस्तै गोसाइँकुण्ड पुग्ने यात्रुलाई खान बस्न सुविधा पुगोस् भन्ने उद्देश्यले लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत अनुमति दिएका तीर्थस्थल नजिकैका चार होटल नियमित सञ्चालन गराउन आग्रह गरिएको छ ।
प्रकाशित समय : २०:१६ बजे