Nepalese Flag २०७८ कार्तिक ८ गते सोमबार   |   October 25, 2021

नेकपा (एस) केन्द्रीय समिति बैठक मंगलबार

न्युज कारोबार काठमाडौं असोज ४, २०७८       

jeewan-bima-jaruri-chha नेकपा (एस) केन्द्रीय समिति बैठक मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए । सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ । बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक संगठन प्रवर्द्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ । 

उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । संगठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ । बामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ । (रासस)

सम्बन्धित खबरहरु