गृहपृष्ठ आत्मनिर्भर भएर पनि किन आयात हुन्छ करोडौंको माछा-मासु तथा दूधजन्य वस्तु ?
आत्मनिर्भर भएर पनि किन आयात हुन्छ करोडौंको माछा-मासु तथा दूधजन्य वस्तु ?
गत चैतमा सरकारले मासु तथा दूधजन्य वस्तुमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, त्यसै महिनामा पनि करोडौं मूल्य बराबरको सोही वस्तु आयात भइरहेको थियो । त्यसपछिका महिनाहरुमा लगातार आयात बढिरह्यो ।
गत आवमा मात्रै नेपालमा एक अर्ब ६ करोड ३२ लाख ३९ हजार रुपैयाँ बराबरको दूध तथा मासुजन्य पदार्थ आयात भएको छ । विभागको तथ्यांकअनुसार गत वर्ष एक अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको दूधजन्य पदार्थ आयात भएको छ भने एक ९९ करोड ५० लाख ४० हजार रुपैयाँको अण्डा लगायतका वस्तुहरु आयात देखिन्छ ।
चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै सरकारले आत्मनिर्भर घोषणा गरेका दूध, बटर, मासु र अण्डाजन्य वस्तु २७ करोड ६ लाख ५८ हजार रुपैयाँको आयात भएको छ । मासु ३० लाख ९० हजार, माछा एक करोड २४ लाख ८५ हजार र दूधजन्य १६ करोड ५० लाख ८३ हजारको आयात भएको छ भने एक करोड ९० लाख ७६ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यसरी हेर्दा पहिलो महिनामै सरकारले आत्मनिर्भर भएको भनिएका वस्तुमा २५ करोड १५ लाख ८२ हजार रुपैयाँको व्यापार घाटा भएको तथ्यांक देखिन्छ ।
आयातसँगै एक करोड ९० लाख ७६ हजार रुपैयाँको नेपालमा उत्पादित चौंरीको छुर्पीलगायत अन्य वस्तुहरु निर्यात भएको छ । पहिलो महिनामै दूधजन्य वस्तुअन्तर्गत १४ करोड ६० लाख सात हजार रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागका प्रवक्ता पूर्णविक्रम खड्काले बताए ।
कति हुन्छ पशुपन्छीजन्य उत्पादन ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव प्रकाशकुमार सञ्जेलका अनुसार धुलो दूध, बटर, मासु (भैंसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ । उनका अनुसार नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ । तर, उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको छ । बटर (घिउ) १२ सय मेट्रिक टन उत्पादन हुन्छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ । त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु रहेको छ । वार्षिक ३३ लाख खसी-बोकाको मासु नेपालमा खपत हुन्छ भने दैनिक १० लाख केजी कुखुराको मासु खपत हुन्छ । ‘नेपालमा चाहिनेभन्दा बढी आयात उत्पादन भएपछि आत्मनिर्भर घोषणा गरिएको हो,’ प्रवक्ता सञ्जेलले न्युज कारोबारलाई भने, ‘प्रति नेपालीलाई आवश्यक पर्ने दूध तथा माछा मासुजन्य वस्तुभन्दा धेरै उत्पादन भइरहेको छ । तर, नेपालीहरुले शरीरलाई चाहिनेभन्दा बढी माछा-मासु तथा दूध खान्छन् र आयात हुन्छ ।’
प्रवक्ता सञ्जेलका अनुसार नेपालमा एक अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । त्यसमध्ये प्रतिव्यक्ति वार्षिक रूपमा न्युनतम ४८ वटा अण्डा खानुपर्छ । तर, नेपालमा भने प्रतिव्यक्ति ५४ वटा अण्डा उत्पादन भइरहेको छ । उनले आवश्यकताभन्दा बढी उत्पादन भइरहेको हुँदा आत्मनिर्भर मुलुकको रुपमा घोषणा गरिएको बताए । ‘संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक जना मानिसलाई आवश्यक पर्नेभन्दा बढी उत्पादन भएको हुँदा उत्पादन अवस्थाका आधारमा नेपाललाई आत्मनिर्भर मुलुकको रुपमा घोषणा गरिएको हो,’ उनले भने ।
कृषि मन्त्रालयका अनुसार केही वर्ष यता २३ लाख एक हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु, एक अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ । हालको प्रचलित बजार मूल्यको आधारमा करिब एक खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यवस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको प्रवक्ता सञ्जेलले बताए ।
स्वास्थ्यलाई कति आवश्यक पर्छ ?
विश्व खाद्य तथा कृषि संगठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध पिउनुपर्छ । दूध मात्रै होइन, स्वस्थ रहनका लागि एक वर्षमा १४ केजी मासु आवश्यक हुन्छ । खाद्य तथा कृषि संगठनका अनुसार वार्षिक ४८ वटा अण्डा उपभोग गर्नुपर्छ । नेपालमा भने प्रतिवर्ष प्रतिव्यक्ति ७९ लिटर दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय : २२:३७ बजे