गृहपृष्ठ संखुवासभा हत्याकाण्ड : भतिजा नाता पर्ने छिमेकी युवक पक्राउ
संखुवासभा हत्याकाण्ड : भतिजा नाता पर्ने छिमेकी युवक पक्राउ
संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । घटनापछि निगरानीमा रहेका ती युवकलाई नियन्त्रणमा लिइएकाे प्रहरी स्राेतले जनाएकाे छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले भने एक युवकमाथि अनुसन्धान भइरहेकाे मात्र बताए ।
भाेलिसम्म घटनाबारै सबै स्पष्ट हुने एसपी राईकाे भनाइ छ । उनले भने, 'स्थानीय एक युवकमाथि अनुसन्धान केन्द्रित छ । भाेलि सबै स्पष्ट हुन्छ ।' प्रहरी स्राेतका अनुसार पक्राउ परेका युवकले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । ती युवक स्थानीय बासिन्दा नै रहेकाे प्रहरीले जनाएकाे छ ।
एकजनालाई प्रहरीले पक्राउ गरेकाे स्थानीयवासीहरूले पनि बताएका छन् । न्युज काराेबारकाे सम्पर्कमा आएका एक स्थानीयवासीका अनुसार पक्राउ परेका युवक हत्या गरिएका तेजकुमारका भतिजा नाता पर्ने हुन् । 'पक्राउ परेका व्यक्तिकाे नाम लाेकबहादुर कार्की हाे । उनी तेजकुमारका भतिजा नाता पर्ने हुन्,' ती स्थानीयले भने । उनका अनुसार पक्राउ परेका लाेकबहादुर वैदेशिक राेजगारीबाट फर्केका र मानसिक विरामी हुन् । 'एकपटक पागल पनि भएका थिए । त्यसयता नियमित औषधि खान्थे,' ती स्थानीयले बताएका छन् ।
गत सोमबार बिहानै मादी नगरपालिका-१, उम्लिङकाे खोला गाउँमा स्थानीय तेजकुमार कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा ५२ वर्षीय तेजकुमार, उनकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, १० वर्षीय विपिन कार्की र ७ वर्षीय ागोमा कार्की हत्या भएको थियो ।
घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । व्यक्तिगत रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:२२ बजे