nmb bank

गृहपृष्ठ सुदूरपश्चिममा ‘मन्त्री थपघट’काे तयारी

सुदूरपश्चिममा ‘मन्त्री थपघट’काे तयारी

सुदूरपश्चिममा ‘मन्त्री थपघट’काे तयारी

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी र दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र मिल्दा सरकार बहुमतमा पुगेको छ । दुई दलको प्रष्ट बहुमत रहेकाले विगतमा एमालेमा रहँदाकै सत्ता गठबन्धनलाई निरन्तरता दिइने एकीकृत समाजवादीका सांसदहरूले बताएका छन् । अब सुदूरपश्चिम सरकार एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रकै गठबन्धनमा सञ्चालन हुने छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमा हुँदादेखि नै माधव नेपाल समूह माओवादी नेतृत्वको सरकारमा सत्ता साझेदार रहँदै आएको थियो । नेपाल समूहमा रहेका बहुमत सांसद उनी नेतृत्वको एकीकृत समाजवादीमा गएसँगै सरकारमा विगतकै गठबन्धनले निरन्तरता पाउने भएको हो । दुई दलको स्पष्ट बहुमत रहेकाले तत्काल सरकार फेरबदल नहुने समाजवादी पार्टीले जनाएको छ । सरकार दुई दलकै रहने तर मन्त्री फेरबदल हुनसक्ने सांसदहरुले संकेत गरेका छन् । दुई दलको प्रष्ट बहुमत रहेकाले कांग्रेसलगायत दललाई सरकारमा ल्याउने कुनै तयारी छैन ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले तत्काल यही सरकारले निरन्तरता पाउने बताइन् । ‘हामीसँग प्रष्ट बहुमत भइसक्यो । नेकपा एकीकृत समाजवादी र माओवादी गठबन्धनको सरकारले निरन्तरता पाउँछ । केही मन्त्री थपघट हुनसक्छन्,’ उनले भनिन् ।

एमाले र माओवादीबीचको तिक्तता र एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत १० जेठको एमाले स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, संसदीय दलमा बहुमतमा रहेको नेपाल समूहले सत्ता गठबन्धन कायम राखेको थियो । स्थायी कमिटीको निर्णयलाई चुनौती दिँदै २५ जेठमा नेपालनिकट १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । ओली पक्षबाट समेत एक सांसद थपिएसँगै समाजवादीको पक्षमा १४ सांसद पुगेका छन् । माओवादीका १३ सांसद गरेर सरकार गठनका लागि चाहिने २७ मत पुग्छ । सरकारमा नेपाल समूहका सातजना मन्त्री थिए । तीमध्ये एमालेमै रहेका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिइसकेका छन् । एमाले सत्ताबाट बाहिरिए पनि सरकारको समर्थन फिर्ता लिएको छैन ।

एमाले संसदीय दलका नेतासमेत रहेका प्रकाश बहादुर शाहले हालसम्म सरकारलाई एमालेको समर्थन नै रहेको बताए । उनले भने, ‘बिचमा विभिन्न राजनीतिक परिघटनाका कारण एमाले नै एक पक्ष समर्थनमा त एक पक्ष विपक्षमा थियो तर अब त्यो घटना फेरिएको छ । के गर्ने भनेर दलले निर्णय गर्छ ।’

५३ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले एकजनालाई हटाएपछि हाल ५२ सदस्यीय छ । सांसद झपट बहादुर बोहोरा एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई हटाएको थियो । विगतकै गठबन्धनलाई कायम राख्न सरकारमा दुई पार्टीको बहुमत पुग्ने गरी आफ्नो पक्षमा सांसद जुटाउने कसरतमा समाजवादीका नेताहरू लागेका थिए । केन्द्रमा गठबन्धन भए पनि प्रदेशमा स्पष्ट बहुमत रहेकाले सरकारमा तत्काल कांग्रेस वा जसपाको सहभागिता नहुने सत्तारुढ दलका नेताहरूले दाबी गरेका छन् ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु