Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

'राष्ट्रिय वन्यजन्तु संरक्षण विभागअन्तर्गत सेवा समूहको रुपमा छुट्टै नियमावलीको आवश्यक छ'

न्युज कारोबार काठमाडौं मंसिर २७, २०७७       

'राष्ट्रिय वन्यजन्तु संरक्षण विभागअन्तर्गत सेवा समूहको रुपमा छुट्टै नियमावलीको आवश्यक छ'
पछिल्लो केही समययता गैंडाको मृत्यु र चोरीशिकारीका घटनाहरु बढ्दै गइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै १६ वटा गैंडा मृत फेला परेका छन् । प्राकृतिक विपत्ति, उमेर पुगेर, चोरीशिकारी आदि कारणले गैंडाको संख्या घटिरहेको छ । पछिल्ला वर्षहरुमा चोरी शिकारीबाहेक प्राकृतिक कारण वा दुर्घटनाले ४३ गैंडा मरेका छन् । गैंडा मर्ने क्रम बढेसँगै निकुञ्ज लगायतका अन्य निकायले संरक्षणका लागि कार्ययोजनाहरु बनाउन थालेका छन् । यस्तै विषयवस्तुमा आधारित रहेर चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालसँग न्युजकारोबार डटकमकी बबिता तामाङले गरेको कुराकानी :
चितवन राष्ट्रिय निकुञ्जको विशेषता के हो ? चितवन राष्ट्र निकुञ्ज ९ सय ५३ वर्गकिलोमिटरमा फैलिएको छ । यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । यस निकुञ्जलाई सन् १९८४ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । संसारको सबैभन्दा धेरै गैंडाको जनसंख्या चितवनमा छ । ५ सयभन्दा बढी प्रजातिका चराचुरुंगी छन् । यसबाहेक घडियाल, हात्ती, हरिण, बाँदर, चित्तल लगायतका प्राणीहरु यस निकुञ्जमा छन् । यो निकुञ्ज पर्यटनको हिसाबले पनि नेपालका विभिन्न लोकप्रिय स्थानमध्ये एक महत्वपूर्ण क्षेत्र हो । यसको अवस्थिति उचाइ तल्लो नदी उपत्यकामा १ सय मिटरदेखि चुरे पहाड क्षेत्रमा ८ सय १५ मिटरसम्म रहेको छ । यो निकुञ्ज जंगली सफारीको लागि पनि लोकप्रिय छ । प्राकृतिक कारणले पनि गैंडा मरिरहेका छन् । चोरीशिकारीले गैंडा मारेको घटनाहरु पनि छन् । पछिल्लो केही वर्षमा गैंडाको संख्या घटबढको अवस्था के छ ? घटबढ हुनुको कारण के कस्ता छन् ? गैंडाको संख्या घढबढ के छ भन्नलाई गैंडा गणना हुनु जरुरी छ । २०१५ मा गैंडा गणना गरेका थियौं । गएको वर्षमा कोभिडको कारणले गैंडा गणना गर्न सकेनौं । अहिले घटबढ के छ भन्नेबारे अब यो वर्ष गणना गरेपछि थाहा हुन्छ । गैंडाको जीवनप्रक्रिया पनि मान्छेको जस्तै हो । मान्छे मरिरहन्छ, जन्मिरहन्छ । त्यस्तै केही गैंडाहरु मरिरहेका पनि छन्, केही उत्पादन पनि भइरहेको छ । पछिल्ला दिनहरुमा प्राकृतिक कारण, चोरी तस्करी बाहेकका अन्य कारणले पनि गैंडाको संख्या घटिरहेको छ । विगत वर्षमा केही गैंडाहरु बालीनालीमा लाग्ने रोगहरुको कारणले मरेको भन्ने थियो । अरु रोगहरुको बारेमा पूर्ण रुपमा जानकारी भएको छैन । गाउँघरमा विभिन्न रोगव्याधि हुनसक्छ, त्यही नै हो । सन् २०१५ मा गैंडा गणना गर्दा त्यतिबेला देशभरीमा ६४५ गैंडा थिए भने चितवन निकुञ्जमा ६०५ गैंडा थिए । गैंडा संरक्षणको लागि निकुञ्जले के कस्ता कार्ययोजनाहरु तयार वा लागू गरेको छ ? गैंडा संरक्षणको लागि दुईवटा कुरा छन् । एउटा निकुञ्जभित्र संरक्षण गर्ने कुरा अर्को बाहिरको संरक्षण । भित्रको लागि निरन्तर सुरक्षा, जाँच र व्यवस्थापनका कुराहरु गरिरहेका छौं । नियमित घाँसे मैदान लगातार व्यवस्थापन गरिरहेका हुन्छौं । बाहिरको लागि सामुदायिक वनहरु, उपभोक्ता समितिमा भएको अभियानहरुलाई सक्रिय बनाउने प्रयास गरिरहेका छौं । लाईफ टाइम कन्ट्रोल ब्युरोहरुलाई सक्रिय बनाउने, प्रहरी प्रशासन, जनतालगायत सबैको सहयोग लिएर तस्करीहरुलाई नियन्त्रण गर्ने काम गरिरहेका छौं । गैंडा संरक्षणमा स्थानीय निकायको कति भूमिका हुन्छ ? स्थानीय निकाय यसप्रति कति संवेदनशील पाउनुहुन्छ ? स्वाभाविक हिसाबले स्थानीय निकायको प्राथामिकता भनेको स्थानीय विकास, गरिबी निवारणका कुराहरु हुन् । स्थानीय निकायले गर्नुपर्ने धेरै कामहरु छन् । हामी संरक्षणका कुराहरु गर्छांै तर उहाँहरु नीति नियमका कुरा गर्नुहुन्छ । तर कतिपय अवस्थामा संरक्षण र व्यवस्थापनका कुराहरुमा सहयोग प्राप्त हुन्छ । सबैले गर्छन् भन्ने छैन । तर जसले यो गैंडा संरक्षणका मर्म बुझ्नु भएको छ, जसले यो महत्वपूर्ण छ, यो चितवनको गौरव हो भन्ने बुझ्नुभएको छ, उहाँहरुले गर्नुभएको छ । नबुझ्नेहरुलाई हामी बुझाउनको लागि सचेतनाका कार्यक्रमहरु गर्छाैं । अन्तर्क्रिया गर्छौं, बैठक बस्छौं । सहकार्यका अन्य कामहरु पनि गर्ने प्रयास भइरहेको छ । गैंडा संरक्षणमा मुख्य चुनौती र समस्याहरु के हुन् ? अब गैंडा संरक्षणका लागि सरकारले गर्नैपर्ने नीतिगत र व्यवहारिक कामहरु के हुनसक्छ ? मूलभूत समस्या भनेको गैंडा संरक्षण नै हो । हाम्रो देश विकान्सोन्मुख राष्ट्र भएकाले स्रोतसाधन पर्याप्त छैन । त्यसका लागि पर्याप्त मानवीय स्रोतसाधन हुनु आवश्यक छ । साथै आर्थिक स्रोत साधन र भौतिक स्रोतसाधनमा पनि राष्ट्रले हेर्नुपर्ने हुन्छ । जनसमुदायहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय तहहरु, राजननीतिक दलहरु, अन्य सरकारी तथा गैरसरकारी निकाय लगायतको सहयोग उत्तिकै आवश्यक छ । यी कुराहरु अझ नीतिगत रुपमा व्यवस्थित र बलियो भएर आउनुपर्छ । साथै कर्मचारीहरुको मनोबल उच्च नराखीकन कार्य गर्न सकिँदैन । उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नुपर्छ, अग्रपंक्तिमा सधैँ तयार र तत्पर गर्नुपर्ने कुराहरु महत्वपूर्ण छन् । कार्यगत हिसाबले भन्ने हो भने राष्ट्रिय वन्यजन्तु संरक्षण विभागअन्तर्गत सेवा समूहको रुपमा वन्यजन्तु संरक्षणसम्बन्धी छुट्टै एउटा नियमावलीको आवश्यकता पर्दछ । जसले गर्दा कुनै पनि आरक्षणमा खटिने कर्मचारीहरु ‘हामी अरुभन्दा पृथक हौं र हाम्रो दायित्व अरुको भन्दा धेरै छ’ भन्ने कुरा माथिल्लो निकायमा खट्किरहेको अवस्था छ, त्यसलाई बुझ्नु जरुरी छ ।

सम्बन्धित खबरहरु