Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

होटलबाट २२० डोज काेराेना खोपसहित स्वास्थ्यकर्मी पक्राउ

न्युज कारोबार काठमाडौं साउन १६, २०७८       

होटलबाट २२० डोज काेराेना खोपसहित स्वास्थ्यकर्मी पक्राउ

बिर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेकाे छ । बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई शुक्रबार अपरान्ह ४ बजेतिर खोपसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानुनबमोजिम थप कार्बाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप बिर्तामोड नगरपालिकाको आग्रहबमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकिर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा बिर्तामोडका फोकल पर्सन खड्काले आफू आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दाबी गरे ।बिर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् । तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको बिर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट बिर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफू अनभिज्ञ भएको बताए । उनले घटनाबारे सोधखोज भइरहेको जानकारी दिए । (रासस)

सम्बन्धित खबरहरु