Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

सैनिक कल्याणकारी कोषको सम्पत्ति १८ प्रतिशत बढ्यो

न्युज कारोबार काठमाडौं साउन १६, २०७८       

सैनिक कल्याणकारी कोषको सम्पत्ति १८ प्रतिशत बढ्यो

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड  ८० लाख रूपैयाँ पुगेको छ । कोषमा २०७७ साल असार मसन्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको हाे ।

सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको पाँच अर्ब ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी  भएबापत प्राप्त एक करोड २४ लाख एक हजारबाट २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वित भइररहेको जानकारी दिइएको छ । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिक रुपमा सरकारलाई ४५ करोड राजस्व र १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो । कोषको रकम मध्ये ९९.३५ प्रतिशत 'क' वर्गका वाणिज्य र बाँकी 'ख' वर्गका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो ।

सम्बन्धित खबरहरु