Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

बक्यौता भुक्तानीका लागि उखु किसानकाे अल्टिमेटम

न्युज कारोबार काठमाडौं साउन १५, २०७८       

बक्यौता भुक्तानीका लागि उखु किसानकाे अल्टिमेटम फाइल तस्बिर ।

उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

बिहीबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै किसानले भदौ ५ गतेसम्म १५ करोड बढी रहेको बक्यौता रकम भुक्तानीको समय दिएका हुन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानले विगतमा भएको सहमति पालना नभएको भन्दै उक्त अवधिमा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

किसानले गत वर्षको मंसिरमा बक्यौता रकम भुक्तानीको माग गर्दै माइतीघरमा आन्दोलनसमेत गरेका थिए । उखु किसान संघर्ष समिति एवं उद्योग मन्त्रालयबीच २०७७ साल पुस १३ गते पाँचबुँदे सहमति दोस्रोपटक भएको थियो । सहमतिअनुसार २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउने जिम्मेवारी लिएको थियो । 'उद्योग मन्त्रालयले उद्योगीको जायजेथा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन सकेन । किसानको भविष्यसँग खेलबाड गरिएको छ,' समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उखु किसानसँग सम्बन्धित अन्य समस्याका बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भने पनि हालसम्म सार्वजनिक नगरिएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले जानकारी दिए । उनका अनुसार उद्योग मन्त्रालयले तयार गरेको प्रतिवेदतमा उद्योगीबाट कति रकम र नेपाल सरकारको अनुदानमध्ये कति रकम किसानलाई दिनुपर्ने हुन्छ, त्यसको किटानी गरिएको छैन । किटानी नभएकाले नै किसानका प्रतिनिधिले उक्त प्रतिवेदनमा हस्ताक्षरसमेत गरेका छैनन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष राम स्वार्थ राय छ वटा चिनी मिलले १५ करोड बढी रकम भुक्तानी नगरेको बताउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने चिनी उद्योग तथा जिल्ला प्रशासन कार्यालयबाट सबै रकम भुक्तानी भएको जानकारी आएको जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु