Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

स्वास्थ्य चौकीमै विशेषज्ञ सेवा

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

स्वास्थ्य चौकीमै विशेषज्ञ सेवा

स्वास्थ्य चौकीमै विशेषज्ञ सेवा सुरु गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइली स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सुरु गरिएको हो । २०३४ सालमा स्थापना भएको उक्त स्वास्थ्य चौकीमा गत सालदेखि मेडिकल अधिकृतले सेवा दिँदै आएका थिए ।

बुधबार वीरेन्द्रनगर नगरपालिकाको पहलमा विशेषज्ञ सेवाको सुरुवात गरिएको हो । यद्यपी विज्ञापन गरी विशेषज्ञबाटै सेवा सुचारु भने भएको छैन । स्वास्थ्य चौकीमा विशेषज्ञसहित ईसीजी र भिडियो एक्सरे सेवाको सुरुवात गरिएको हो । यसअघि स्वास्थ्य चौकीबाट दिइने सामान्य सेवा बाहेकको सेवा दिँदै आएको स्वास्थ्य चौकीले आकस्मिक सेवासमेत दिँदै आएको स्वास्थ्य चौकी प्रमुख नशेश्वरी शाहीले जानकारी दिइन् । उनका अनुसार सेवाका लागि स्त्रीरोग विशेषज्ञ डा.कृतिका थापा र हाडजोर्नी विशेषज्ञ डा. शुभ श्रेष्ठ तथा रेडियोलोजिष्ट डा. डीबी गुरुङले सेवा दिनेछन् । जसको लागि कुरासमेत भइसकेको उनले जानकारी दिइन् । कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहन माया ढकालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले आफूहरु निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्रथामिकतामा राखि कार्य गरेको बताइन् । स्वास्थ्य जस्तो संवेदशील कुरामा राज्यको ध्यान जानुपर्ने तर्क ढकालले गरिन् । प्रमुख अतिथि एवं नगरप्रमुख देवकुमार सुवेदीले श्रोत साधन र दक्ष कामदारको अभावमा यस  स्वास्थ्य चौकीले माथिल्लो तहको सेवा दिइरहेको र उक्त कार्य सम्मानजनक रहेको बताए ।

‘हामी जनप्रतिनिधिहरु निर्वाचित भइसकेपछि धेरै शिलान्यास र उद्घाटनका कार्यक्रमहरु गर्दै हिड्छांै तर, त्यो कार्य पूरा भए/नभएको बारे सु–सुचित बनाउनु जनताको पनि उत्तिकै दायित्व रहन्छ,’ स्वास्थ्यलाई वीरेन्द्रनगर नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको उनले बताए । कार्यक्रममा निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आएकी स्त्री रोग विषेशज्ञ डा. कृतिका थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष सुरेश मानन्धर, वरिष्ठ अधिवक्ता विद्याभुषण मानन्धर लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबरहरु