Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

नदीले धार बदल्न थालिसक्यो, ७ वर्षमा पनि बनेन पुल

दिनेश बिष्ट धनगढी साउन ११, २०७८       

नदीले धार बदल्न थालिसक्यो, ७ वर्षमा पनि बनेन पुल अधुरै छाडिएकाे पुल ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३, चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९, राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएको छ । तर पुल भने अझै अधुरो छ ।

प्रदेशको अस्थायी राजधानी छेउमै रहेको यो पुल निर्माणका बारेमा स्थानीय तहका प्रमुखदेखि मुख्यमन्त्रीलाई समेत राम्रोसँग थाहा छ, तर समयमै काम सम्पन्न गराउन कर्मचारीदेखि नेताहरु समेत असफल बनेका छन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने उक्त पुल निर्माणका लागि २०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पुलको शिलान्यास गरेका थिए । पुल निर्माणका लागि समय थपियो तर पुल निर्माणको काम पूरा भएन । पुल निर्माण कार्यमा ठेकेदारले चरम लापर्बाही गरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । ठेकेदारको लापर्बाहीलाई हेर्दै कर्मचारी र नेताहरु समेत मुख दर्शक बनेको स्थानीयहरुको आरोप छ ।

‘दशकौं पहिलेको यस क्षेत्रका स्थानीयको सपना पूरा हुनसकेको छैन,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका- ९ का तेजु रोकायाले भने, ‘निर्माण कम्पनीको चरम लापर्बाहीका कारण पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र बन्यो । ठेकेदारले सुरुवातमा स्थानीयले साथ नदिएको बताउँदै आएका थिए । अहिले स्थानीयबाट पनि सहयोग भइरहेको छ । तर काम पूरा भएको छैन ।’ काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सडक डिभिजन कार्यालय उदासीन देखिएको उनले आरोप लगाए ।

धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको छ । स्थानीयका अनुसार नदी माथि निर्माणाधीन पुलको काम सम्पन्न भए धनगढीबाट राजघाट १० मिनेटमा आवातजावत गर्न सकिन्छ । तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता छ ।

धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको राजघाटका स्थानीय दीपेश घर्तीले बताए । ‘मोहना नदीमाथि निर्माणाधीन पुलको काम सम्पन्न भए धनगढी-राजघाट १० मिनेटमा आवतजावत गर्न सकिने अवस्था छ,’ उनले भने, ‘तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै लामो बाटो भएर धनगढी आउनु पर्ने बाध्यता छ ।’

नदीले कटान गरेकाे क्षेत्र ।

पुलको काम सम्पन्न नहुँदै सोही पुल प्रयोगविहीन हुने अवस्था सिर्जना भएको छ । नदीले राजघाट तर्फको जमिन कटान गरेपछि पुलभन्दा अगाडिबाट नदी बग्ने सम्भावना बढेको छ । दुई दिन अगाडिको वर्षापछि नदीमा आएको बाढीले कृष्णपुर राजघाट तर्फको जमिन कटान गरेको छ । उक्त भागमा तत्काल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने जोखिम रहेको छ । नदीले धार बदलेर एकातिर नदी र  अर्कोतिर अपुल हुने सम्भावना बढेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार जमीन कटान गर्दै नदीले धार बदल्न सुरु गरिसकोको र राजघाटतर्फ अझै कटान बढ्ने सम्भावना छ । कटानको समस्या समाधान गर्न नसके पुल वारी र नदी पारी हुने सम्भावना रहेको स्थानीय राजबहदुर खड्काले बताए ।

पुलको लम्बाई एक सय २० मिटर रहेको छ । निर्माण कम्पनीले अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक सय मिटर लम्बाइमा ग्राभेल मात्रै हाल्ने जनाएको छ । ८ करोड ४२ लाख लागतमा निर्माण भइरहेको पुल प्रयोगमा ल्याउनका लागि नदी कटानको जोखिमलाई रोक्नु पर्ने देखिएको छ ।

निर्माण सम्झौताको ७ वर्षपछि पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले जानकारी दिए । उनका अनुसार ग्राभेल र रेलिङको काम मात्रै बाँकी रहेको छ । नदी कटान रोक्नका लागि केही समयमै काम सुरु गर्ने योजना रहेको सूचना अधिकारी जोशीले बताए ।

सम्बन्धित खबरहरु