Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

ढुंगा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा

न्युज कारोबार बनेपा साउन ११, २०७८       

ढुंगा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा फाइल तस्बिर

घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेसिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उनकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर यही असारमा परेको वर्षाका कारण बगाइसकेको छ । काभ्रेको पनौती नगरपालिका–१२ खारखोलामा रहेको भुजेल गाउँको बस्तीमा रहेको समुदायको वर्षौंदेखिको पीडा हो यो ।

पहिरो गएर आफ्नो घर पनि जोखिममा परेपछि खानीबालालाई बेच्न बाध्य हुने अवस्थामा पुगेकाले बैनासमेत गरिसकेको उनले बताए । 'अब घर मात्रै बाँकी छ, कमाएर खाने बारीमा छरेको मकै सबै पहिरोले बगाइसकेको छ, केही छैन,' उनले भने, 'खानीको मनपरीकै कारणले अन्त ठाउँमा गएर घर मात्रै बनाएर बस्न बाध्य छौं ।' गाउँका अन्य दाजुभाइ पनि खानीवालाकै मूल्यमा बेचेर अन्त ठाउँमा सरिसकेको उनले बताए । पहिरोको जोखिममा परेपछि आफूहरुको पनि घरबारी सबै खानीवालालाई नै बेच्न भनेर कुरा गरिसकेको र यही साउन १५ गते बैना गर्ने कुरा भएको उनले सुनाए ।

'वरिपरि क्रसर र ढुंगा खानी भएकाले पल्लो भित्ताबाट पहिरो गयो भने त जोखिम नै हुन्छ, तर आउँदैन होला, त्यही आशामा बसेका छौं,' उनले भने, 'पहिरोको जोखिममा परेका कारण बस्तीका केही परिवार घर नै छाडेर हिँड्न बाध्य भए, हामी पनि त्यहाँबाट अन्त सर्नुको विकल्प छैन ।' खानीवालाले किन्ने भनेर भने पनि पैसा अहिलेसम्म हातमा नपरेको र अहिले पनि पहिरोले तानेको छाप्रो र बारी हेर्दै बसिरहनुपरेको पीडा उनले सुनाए ।

सोही ठाउँका अर्का लोकबहादुर भुजेलले तलबाट खानीले खनेर पाखो नै झारिसकेको कारण घरबारी बेच्नुपरेको बताए । अहिलेसम्ममा पाँच/छ घर विस्थापित भइसकेको र अन्य घरपरिवार पनि विस्थापित हुने अवस्थामा रहेको उनले बताए । वडा नं १२ का वडाध्यक्ष ईश्वर जंगमले एक डेढ वर्ष अगाडि खानीका कारण बस्तीमा पर्न गएको समस्यालाई लिएर आएको र आफैं बसेर दुवै पक्षलाई राखेर समस्या समाधान गरिदिएपछि अहिले पछिल्लो समयमा कुनै गुनासो आफू कहाँ नआएको बताए । खानी सञ्चालनका क्रममा खन्दै जाँदा आफ्नो जग्गा नजिक पुगेपछि बेच्नका लागि दुवै पक्षबीच छलफल हुने गरेको र आपसमा कुरा मिलाएर बिक्री गर्ने गरेको पाइएको वडाध्यक्षको भनाइ छ ।

वडा नं २ ठकुरी गाउँका गोवर्द्धन भुजेलले भने आफूहरुलाई पहिरोको डर नभए पनि हिलो, धुलो र टिपर चलाएका कारण पसल, बजारमा काम विशेषले आवतजावत गर्न समस्या भएको बताए । आफूहरु पहिलादेखि नै बस्दै आएको गाउँमा करिब ४०० मिटरको दूरीमा काठमाडौं रोडा ढुंगा उद्योग र डाइमण्ड रोडा ढुंगा उद्योग सञ्चालन गरेपछि बस्तीमा वातावरण प्रदूषण बढेको उनको भनाइ छ ।

यसरी खानीकै कारण गाउँ नै विस्थापित हुनुपरेको यो एउटा उदाहरण मात्रै हो । पनौती नगरपालिका-१२ कलाँतीभूमेडाँडा र वडा नं २ कुशादेवीको सिमानामा रहेको रोशी खोलामा वर्षौंदेखि मापदण्डविपरीतका ढुंगा खानी तथा क्रसर उद्योग सञ्चालन गरेका कारण सो ठाउँका धेरै घरपरिवार विस्थापित भइसकेको र अरु पनि विस्थापित हुने अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ । वडा नं २ नयाँगाउँका स्थानीय गोविन्द आचार्यले खानीले तलबाट जथाभावी खन्ने, खोलामा ढुंगामाटो र गेगर फाल्ने तथा मेसिन लगाएर ब्रेकर हान्ने गरेका कारण आफूहरुको गाउँ नै जोखिममा परेको बताए । 'माथि ठूलो बस्ती छ, तल आधा दर्जनभन्दा बढी ढुंगा खानी र क्रसर उद्योग सञ्चालन भइरहेको छ,' उनले भने, 'खानी सञ्चालन गर्दा खानी चलाउने ठाउँको मात्रै जग्गा खरिद गरेर माथिका बस्तीका समुदायसँग कुनै सल्लाह नै नगरी चलाएको कारण अहिले गाउँ नै विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।'
    
जलाधार क्षेत्र र चरा संरक्षण क्षेत्रसमेत घोषणा गरेको ठाउँमा खानीले जथाभावी उत्खनन गरेका कारण त्यसले ती क्षेत्रलाई प्रभावित पार्ने विषयमा नगरपालिकाले कुनै चासो नदिएको स्थानीयको भनाइ छ । वडा नं २ कै घैयाबारीमा खानीले तलबाट जथाभावी खनेका कारण जमिन फुटेर भासिँदै गएको छ । नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा राखेको गुनासोका कारण पनौती नगर प्रमुख भीम न्यौपाने र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले अनुगमन गरे पनि खानी क्षेत्रमा जमिन भासिनु सामान्य कुरा हो भनेर फर्केको स्थानीयले गुनासो पोखेका छन् । स्थानीयवासीको गुनासोपछि नगरप्रमुख न्यौपाने र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी पोखरेल नेतृत्वको सुरक्षा निकायको टोलीले एक महिना अगाडि स्थलगत अनुगमन गरेको थियो । 

'नगरपालिकामा कर तिर्दा पनौती बजार क्षेत्रको जतिकै दरमा तिर्नुपर्ने, तर हामीले आफ्नो जग्गामा बस्नका लागि पनि सुविधाले बस्न नपाउने अवस्था सिर्जना हुँदा पनि नगरपालिकाले उचित सम्बोधन गरेन ।' आचार्यले भने । त्यतिमात्रै नभई त्यहाँ सञ्चालित खानी र क्रसर सञ्चालनको आवाजले बस्तुभाउ नै विरामी भएको र धुलोका कारण अन्नबाली उब्जाउ घटेको स्थानीयको भनाइ छ ।

विस्थापित हुने अवस्थामा पुग्दासमेत नगरपालिकाले समस्याको उचित सम्बोधन नगरेको वडा नं २ घैयाबारीका स्थानीयको गुनासो छ । त्यहाँका स्थानीय भन्छन्, 'कि त यहाँको सबै खानी र क्रसर उद्योग बन्द हुनुपर्‍यो, कि त खानी क्षेत्र नै घोषणा गरेर हामीलाई अन्त ठाउँमा बस्ने ठाउँको व्यवस्था हुनुपर्‍यो ।' बस्तीमुनि खोला छेउमा सञ्चालन गरिएको खानी र क्रसर उद्योगका कारण माथिका बस्ती सबै जोखिममा रहेको स्थानीयवासी बताउँछन् । खानीकै कारण बर्खामा हिलो र पहिरोको चिन्ताले सताउने गरेको छ भने हिउँदमा धुलोका कारण पसल, घट्ट र दूध ढुवानीमा धेरै समस्या हुने गरेको छ ।

पनौती नगरप्रमुख न्यौपानेले खानीका कारण जमिन भासिएको घैयाबारी क्षेत्रको अनुगमनपश्चात् त्यहाँका विद्युत्को खम्बा सारेर बत्तीको लाइन परिवर्तन गरिसकेको र बस्तीमा पर्ने जोखिमको विषयमा खानी तथा क्रसर सञ्चालकलाई बोलाएर सचेत गराइसकेको बताए । 'रोशी खोला क्षेत्रलाई जलाधार क्षेत्र र सँगै रहेको महाभारत जंगल क्षेत्रलाई चरा संरक्षणको क्षेत्र घोषणा गरी कार्यान्वयनको चरणमा रहेकाले विशेषगरी जलाधार क्षेत्रको सहरी विकासमार्फत् परियोजना सञ्चालन गर्न प्रस्ताव गरिसकेकाले कार्यान्वयनको अवस्थामा पुग्ने क्रममा सायद त्यहाँ सञ्चालित खानी तथा क्रसर उद्योग बन्द हुने अवस्थामा हामी पुग्छौं,' उनले भने । सो क्षेत्रमा मात्रै भालेश्वर, रुशीखोला रोडा ढुंगा उद्योग, डाइमण्ड, कार्की, पनौती, कोहीनुरलगायत आठ वटा ढुंगा तथा क्रसर उद्योग सञ्चालनमा छन् । (रासस)

सम्बन्धित खबरहरु