गृहपृष्ठ दुई करोड खर्चेर बनाइएको मोटरेबल पुल प्रयोगबिहीन
दुई करोड खर्चेर बनाइएको मोटरेबल पुल प्रयोगबिहीन
जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि दुई करोड रूपैयाँभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगबिहीन बनेको छ ।
शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीय लोकबहादुर पुर्जाले बताए । 'जोखिम मोलेर खोलामा जंघार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ,' उनले भने, 'आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।' शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन् ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा सुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो । स्वच्छन्द–गौचन जेभीले दुई करोड २५ लाख रूपैयाँमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो । लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीय चिन्तित भएका छन् । पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । खोलामा बाढी आउँदा स्थानीयलाई आवातजावत र ढुवानीमा समस्या भएको छ ।
हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो । निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ । बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । (रासस)
प्रकाशित समय : १३:२८ बजे