Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’

न्युज कारोबार बागलुङ साउन ९, २०७८       

‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’

बागलुङको निसीखोला गाउँपालिका-४ की गौमती दमिनीले हरेक दुई/दुई वर्षमा घरको छानो फेर्दै हैरानी खेप्दै आएका थिए । न्यून आयस्रोत भएको परिवारकी गौमतीलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्नु पर्दा निकै सकस हुन्थ्यो । यसपालि भने उहाँको घरको छानामा जस्ता लगाइएको छ ।

गाउँपालिकाको खरको छानो हटाउने नीतिअनुसार गौमतीको घर जस्तापाताले छाइएको छ । युवा शक्ति पलायन हुने तथा गाउँमा बालबालिका र बूढापाका मात्रै हुँदा वर्षेनी खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्ता पाताले छाइदिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै गौमतीजस्ता १०३ घरलाई खरको छाना मुक्त गराएको छ ।

खरको छानामुनि बस्दै आएकी गौमतीको घर जस्ता पाताले छाएपछि उनी खुसी भएकी छन् । 'खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको क्षमता थिएन, गाउँपलिकाले जस्तापाताले घर छाइदियो,' उमेरले ७५ वर्ष काटेकी गौमतीले भनिन्, 'दुई वर्षमा घरको छानो फेर्दै आउँदा निकै सकस थियो, गाउँमा खरसमेत पाइन छाडेको थियो, वर्षौँलाई ढुक्क भइयो, अब त बाचुन्जेल घरको छानो फेर्न नपर्ला ।'

गाउँपालिका आएपछि घरको छाना परिवर्तन गरी जस्ता छाइदिएकामा वडा नं ५ का स्थानीय कुलवीर सुनार हर्षित भएका छन् । पुरानो घरमा खरले छाएर बस्दै आएका सुनार अहिले जस्तापाताले छाएपछि घर नयाँ जस्तै बनेको बताउँछन् । खरको घर जोखिम र झन्झटिलो भएको भन्दै उनले गाउँपालिकाले जस्तापाता हालिदिएपछि आफूलाई अब सहज भएको बताए । जस्ताले छाएपछि घरमा आगलागी हुने पानी चुहिने समस्यासमेत समाधान भएको सुनारको भनाई छ ।

निसीखोला गाउँपालिकाले चालू आर्थिक वर्षमा १०३ गरिब परिवारको घरमा जस्तापाताले छाइदिएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए । उनले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको र आगामी वर्ष पनि कार्यक्रम निरन्तर सञ्चालन हुने बताए ।

गाउँपालिकाले सात वटा वडामा ७३ र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३० गरी १०३ जनाको घर जस्तापाताले छाइएको बताए । गाउँपालिकाले घरको छाना विस्थापित गर्न चालू आर्थिक वर्षमा २० लाख रूपैयाँ विनियोजन गरिएको शाक्यको भनाइ छ । प्रदेश सरकारले ३१ परिवारका लागि ५० हजार रूपैयाँका दरले बजेट पठाएको शाक्यले बताए । शाक्यले हरेक वडा कार्यालयबाट सिफारिस भएर आएका अति गरिब परिवारको घर जस्तापाताले छाइदिएको बताए ।

पालिकाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरी जस्तापाता हाल्न माग भएअनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । खरको छानो भएको घरमा आगलागीको जोखिममा हुने र गाउँघरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उनको भनाइ छ । उनले केही वर्षमा गाउँपालिका खरको छाना मुक्त हुने विश्वास व्यक्त गरे । (रासस)

सम्बन्धित खबरहरु