Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

मेची भन्सारबाट लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन

न्युज कारोबार झापा साउन ७, २०७८       

मेची भन्सारबाट लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन

मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा १२ अर्ब नौ करोड रूपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले १३ अर्ब तीन करोड रूपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ७.७७ प्रतिशत बढी हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताए । गत आर्थिक वर्षमा यो नाकाबाट संकलन भएको राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ । कोभिड-१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् आठ अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट १३ अर्ब ६५ करोड रूपैयाँको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैँची रहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट ६ अर्ब ९० लाख रूपैयाँ मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा चार अर्ब आठ लाख रूपैयाँ मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा तीन अर्ब ३१ लाख रूपैयाँ मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु