Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत

न्युज कारोबार काठमाडौं साउन ७, २०७८       

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि ९३ करोड ४६ लाख ६८ हजार रूपैयाँ विनियोजन गरिएकोमा ९२ करोड ३८ लाख ७९ हजार रूपैयाँ आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालू तर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

कुल विनियोजित बजेटमध्ये पुँजीगततर्फ ३० करोड ५४ लाख २२ हजार रूपैयाँ र चालूतर्फ ५० करोड सात लाख ५७ हजार रूपैयाँ गरी ८० करोड ६१ लाख ७९ हजार रूपैयाँ खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण नगरपालिकाले लिएको वित्तीय लक्ष्य हासिल गर्न नसकिएको नगरप्रमुख रिजालले बताए । यसैबीच आर्थिक वर्ष २०७७/७८ सम्ममा नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदेबालीको खेती लगाइएको छ । ‘बाँझो जमीनमा खेतीको लागि अनुदान’ कार्यक्रमअन्तर्गत वडा नं १ दिक्तेल, वडा नं ६ नेर्पा, वडा नं ११ खार्मी, वडा नं १२ जालपा र वडा नं १४ बुइँपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैँची, फलफूल तथा खाद्यान्नबाली लगाइएको हो ।

तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि नगरपालिकाको बाँझो जमीन उपयोगसम्बन्धी कार्यविधि-२०७७ बमोजिम १० किसानलाई अनुदान उपलब्ध गराइएको छ । कृषि पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा, एक कृषि पकेट कार्यक्रम’ सञ्चालन गरेर किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराइएको हो ।

चालू आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउन युवालाई कृषि व्यवसायमा लगाइएको छ । आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपन्छी फार्म निर्माण गरिएको हो । (रासस)

सम्बन्धित खबरहरु