Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान

न्युज कारोबार काठमाडौं साउन ७, २०७८       

कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान अभियानबारे जानकारी दिँदै एसपी अधिकारी ।

कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान सुरु भएको छ । शान्ति सुरक्षाको व्यवस्थापन कार्यलाई परिणाममुखी बनाउने उद्देश्यले सो अभियान सुुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नयाँ प्रहरी प्रमुख आएसँगै उनले फरक ढंगले अपराध नियन्त्रण गर्ने भन्दै सो कार्यक्रम सार्वजनिक गरेका हुन् ।

यस कार्यक्रमले जिल्लामा हुने लागूऔषध सेवन तथा कारोबार र अपराधिक क्रियाकलापमा कमी आउने प्रहरीको अपेक्षा छ । अपराध नियन्त्रणका लागि कैलाली प्रहरीले फरक तरिका अपनाउन थालेको एसपी विश्व अधिकारीको भनाइ छ । ‘जनताबाटै अपराध हुने र जनतासँगै रहेर अपराधीहरुलाई प्रहरीले नियन्त्रणमा ल्याउन सक्ने भएकाले यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौं,’ उनले भने ।

देशमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमका परिकल्पनाकारसमेत रहेका एसपी अधिकारीले कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’अभियान सञ्चालनमा ल्याउन लागेका हुन् । अभियान लिएर जनताको भावनाअनुसार अपराधिक गतिविधि रोक्ने उनले दावी गरे । ‘हामी अपराधको जरा उखेल्ने गरी काम गर्ने छौँ । म यही जिल्लामा जन्मेको नागरिक भएका कारण पनि मैले केही गरेर देखाउनु छ । यहाँका सबै नागरिकसँग सहकार्य गरेर अपराधिक क्रियाकलापलाई न्यूनमा झार्नेतर्फ म केन्द्रित हुने छु,’ उनले भने ।

प्रहरीले मात्रै चाहेर नहुने भएकाले परिणाममुखी कामका लागि जनताको पूर्ण साथ चाहिने एसपी अधिकारीले बताए । उनले भने, ‘त्यसैले पनि यो अभियान ल्याएका हौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रमझैँ जनतासँगको सहकार्य बढाएर अपराध न्यूनीकरण गर्ने योजना हो ।’

यस्तै लागूऔषधको दुर्व्यसन रोक्न ‘सेफ फ्युचर’ कार्यक्रम पनि सञ्चालन हुने भएको छ । भारतसँग सीमाना जोडिएको कैलाली लागूऔषध कारोबारको ‘हब’ बन्दै गएको र यसबाट युवाको भविश्य बचाउन उक्त कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘लागूऔषधको क्षेत्रमा गर्नुपर्ने कामहरु छन् । ‘अपरेसन सेफ फ्युचरको नामले काम गरेर नागरिक-समुदायको समेत सहयोग आवश्यक रहेको प्रहरी प्रमुख अधिकारीले बताए । लागूऔषधका प्रयोगकर्ता तथा कारोबारीहरुका बारेमा समुदायलाई बढी जानकारी हुने भएकाले सूचना दिन उनले आग्रह गरे ।

सम्बन्धित खबरहरु