Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

उपमहानगरको कमजोरीले वडाबीच द्वन्द्व

दिनेश बिष्ट धनगढी साउन ५, २०७८       

उपमहानगरको कमजोरीले वडाबीच द्वन्द्व

पानी निकासको दीर्घकालीन योजना नबन्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा बर्सेनि डुवान हुने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालासमेत बन्द छन् । उपमहानगरपालिकाले यी खोलानाला खोलेर पानी निकासको व्यवस्थापन गर्न नसक्दा सानो झरीमै उपमहानगर जलमग्न बन्ने गरेको छ ।

पानी निकासकै व्यवस्थापनमा उपमहानगर चुक्दा अहिले धनगढीका दुई वडाबीच द्वन्द्व बढेको छ । धनगढी उपमहानगरपालिकामा पानीको निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो । वडा नम्बर ३ बाट बग्ने पानीले डुवान हुने भन्दै वडा नम्बर २ का बासिन्दाले नाला नै बन्द गरिदिएपछि विवाद बढेको हो । वडा नम्बर २ का बासिन्दाले नाला बन्द गरेपछि वडा नम्बर ३ का करिब ८ सय घर परिवार डुवानबाट प्रभावित भएका छन् । वडा नम्बर २ का स्थानीयले पानीको बहाव रोकेपछि विद्युत प्राधिकरण र घरहरु डुवानमा परेका छन् ।

धनगढी उपमहानगरपालिका ३ का धर्मराज सापकोटाले वडा नम्बर ३ बाट निकास हुने नाला २ नम्बर वासीले रोक्दा सानो झरीमै पनि ३ नम्बर वडा डुवानमा परेको बताए । ‘मोहना–अत्तरिया ६ लेन सडकमा बनाएको नाला २ नम्बरवासीले बन्द गरिदिएको छ । त्यसकारण हामी डुवानमा परेका छौं । नाला रोकेर समस्याको समाधान त हुँदैन होला । हाम्रो वडा पुरै डुब्नेवाला छ । यसको निकास चाँडै हुनुपर्छ,’ उनले भने । धनगढी ३ कै राधिका रावलले नाला बन्द गरिँदा आफ्ना घर डुबेको बताइन् । उनले भनिन्, ‘२ नम्बरवासीले नाला बन्द गरेका छन् । हामी डुबेका छौँ । नाला बन्द गरिँदा हाम्रा घरभित्र पानी पसेको छ । बेडमुनि पानी भरिएको छ । कसरी बस्ने कसरी खाने ।’

उपमहानगरपालिकाको वडा नम्बर ३ मा पर्ने डुवान रोकथामका लागि सम्बन्धित निकायले पटक-पटक आश्वासन दिए पनि डुवान नियन्त्रणमा कसैले चासो नदिएको भन्दै जनप्रतिनिधिले समेत आक्रोश पोखेका छन् । संघीय सांसददेखि प्रदेश सांसद तथा उपमहानगरका मेयरबाट समेत आश्वासनबाहेक केही नपाएकै कारण अहिले फेरि डुवानबाट प्रभावित हुनु परेको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए । २ नम्बर वडामा मात्रै पानी निकास गर्नेभन्दा पनि सबै क्षेत्रको पानी निकासको व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । ‘मैले चुनाव जित्नेबित्तिकै ३ नम्बर वडाको डुवान समस्या समाधान गर्न सबै निकायलाई गुहारेको हुँ,’ उनले भने, ‘वडा नम्बर ३ वासीका समस्या कसैले सुन्नुभएन । अहिले झन् नाला नै बन्द गरिदिए । यसरी त हामी डुवानबाट कसरी जोगिन्छौँ र !’

वडा नम्बर २ का स्थानीयले भने कुनै पनि हालतमा वडा नम्बर ३ को पानी आफ्नो वडाबाट निकास गर्न नदिने अडान लिएका छन् । उक्त पानीले २ नम्बर वडा डुवानमा पर्ने उनीहरुको तर्क छ । वडा नम्बर ३ को पानी ३ नम्बर बाटै र २ नम्बरको पानी २ नम्बरबाटै निकास हुनुपर्ने माग उनीहरुको छ । साथै मिचिएका नाला खोलेर सबै क्षेत्रको डुवान अन्त्य गर्न उपमहानगरको ध्यान जानुपर्ने स्थानीयको माग छ ।

धनगढी उपमहानगरपालिका २ का स्थानीय बाबुराजा श्रेष्ठले तत्कालीन नगर विकास समितिले खोला नाला बेच्नु नै डुवानको मुख्य कारण भएको बताए । उनी भन्छन्, ‘अहिलेका जनप्रतिनिधिकै संलग्नतामा खोलानाला सबै बिक्री भएका छन् । यी खोलानाला कसले खोल्ने ? जबसम्म दीर्घकालीन समाधान हुने गरी सबै अतिक्रमण हटाएर नाला पुरानै अवस्थामा ल्याउन सकिन्न, यो डुवान अन्त्य हुँदैन ।’

जनप्रतिनिधिले सबै मिलाएर पानी निकास गर्ने बताइरहेका छन् । दुवै वडालाई समस्या नपर्ने गरी पानी निकास हुनुपर्ने जनप्रतिनिधिको भनाइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर बमले दुईवटै वडालाई क्षति नहुने गरी पानीको निकास बनाउनुपर्ने बताए । ‘वडा नम्बर २ बाट मात्रै निकास गरेर भएन । ३ नम्बरबाट पनि निकास गरे दुइवटै वडा सुरक्षित हुन्छन् । यो नाला खुले २ नम्बर वडाका पनि धेरै घर डुवान पर्छन् । अनि एउटा वडावासीले डुवानमुक्त भएर अर्कोलाई दुख दिनु त भएन नी !’ उनको धारणा छ ।

धनगढीको यो समस्या यहाँका नेता र समाजसेवी हुँ भन्नेहरुकै कारण बढेको स्थानीयहरुको गुनासो छ । धनगढी नगर विकास हुँदा खोलानालासमेत बिक्री गरेपछि पानी निकास बन्द भएको कतिपयको आरोप छ । तत्कालका लागि केही नाला बनाएर वा होम पाइप हालेर डुवान समस्या कम भए पनि दीर्घकालीन समाधानका लागि मिचिएका खोलानाला खोलिन जरुरी रहेको समाजका अगुवाहरु बताउँछन् ।

नाला खुलाउन प्रहरी परिचालन

पानी निकास नभएको भन्दै विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेर नाला खुलाएको छ । नाला खुलाउने क्रममा केहिबेर प्रहरी र स्थानीयबीच विवादसमेत भएको थियो । तर सुरक्षाकर्मीको उपस्थितिमा नाला खुलाए पनि प्रहरी गएसँगै फेरि २ नम्बर वडावासीले नाला बन्द गरेका छन् । धनगढी उपमहानगरपालिका ३ का अध्यक्ष बलबहादुर ऐरले फेरि २ नम्बरवासीले नाला बन्द गरेको बताए । ‘पानी बढिरहेको छ । नाला बन्द गरिहाले । अब झन् डुवान हुने भयो,’ उनले भने ।

सम्बन्धित खबरहरु