Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

लक्ष्यनजिक राजस्व संकलन

न्युज कारोबार काठमाडौं साउन ५, २०७८       

लक्ष्यनजिक राजस्व संकलन

आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलनमा सरकार लक्ष्यनजिक पुगेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले लिएको लक्ष्यअनुसार करिब ९३ प्रतिशत राजस्व संकलन भएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले एक वर्षको अवधिमा ९ खर्ब ३८ अर्ब ३२ करोड २३ लाख रुपैयाँ संकलन गरेको हो । आर्थिक वर्षको अन्तिम दिन असार ३१ मा मात्रै २१ अर्ब २४ करोड ६४ लाख रुपैयाँ संकलन भएको छ ।

एक वर्षको अवधिमा कर राजस्वमा सरकारले ९५ प्रतिशत संकलन गरेको छ । सरकारका सबै तहबाट संकलन गरिएको रकम पनि लक्ष्यनजिक पुगेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । प्रवक्ता पौडेलका अनुसार ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएको सरकारले आवको अन्तिम दिनसम्म ९५.३१ प्रतिशत अर्थात् ८ खर्ब ७० अर्ब ११ करोड ३६ लाख रुपैयाँ संकलन गरेको हो । वर्षको अन्तिम दिन बिहीबार मात्रै १७ अर्ब ३० करोड ४८ लाख रुपैयाँ कर राजस्व संकलन भएको उनले बताए ।

यस्तै, गैरकरतर्फ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ९९ अर्ब ८० करोड ९४ लाखको लक्ष्य राखेकोमा असार अन्तिमसम्म लक्ष्यको ६९.०३ प्रतिशत अर्थात् ६८ अर्ब २० करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ अनुदानतर्फ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्य र संकलनको दूरी भने निकै बढाएको छ । अर्थात् रकम संकलन गर्न सकेको छैन ।

एक वर्षमा अनुदानतर्फ ३३.९७ प्रतिशत अर्थात् २० अर्ब ५६ करोड २७ लाख रुपैयाँमात्रै संकलन गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

पछिल्लो पाँच वर्षमा बजेट खर्च

आर्थिक वर्ष २०७२/७३ को कुल बजेट ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ थियो । जसमा चालू खर्च तीन खर्ब ७१ अर्ब २९ करोड र पुँजीगत खर्च एक खर्ब २३ अर्ब २५ करोड रुपैयाँ खर्च भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ कुल बजेट १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ भए पनि ५ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ चालू खर्च र दुई खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । बाँकी सबै बजेट फ्रिज गएको थियो । 

आर्थिक वर्ष २०७४/७५ मा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ कुल बजेट रहेकोमा ६ खर्ब ९६ अर्ब ९१ करोड रुपैयाँ चालू खर्च र दुई खर्ब ७० अर्ब ७१ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । जसमा खर्च भने चालूतर्फ सात खर्ब १६ अर्ब ४१ करोड रुपैयाँ र दुई खर्ब ४१ अर्ब ५६ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा पनि कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँमा ७ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँ चालू खर्च र एक खर्ब ८९ अर्ब ८ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा पनि कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँबाट ८ खर्ब ५१ अर्ब ४५ करोड रुपैयाँ चालू खर्च र दुई खर्ब २७ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । यसरी समग्रमा हेर्दा पुँजीगत अर्थात् विकास खर्चमा कुनै वर्ष पनि दुई खर्बभन्दा बढी खर्च भएको छैन ।

सम्बन्धित खबरहरु